© २०२३
नेपालगञ्ज, २३ असोज ।
‘आँखालाई माया गरौँ’ भन्ने नारासहित बिहीबार नेपालगञ्जमा विश्व दृष्टि दिवस मनाईएको छ । दिवसको अवसरमा उपचार र रोकथाम गर्न सकिने अन्धोपनका समस्या तथा समाधानबारे जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल दृष्टि विशेषज्ञ संघ, लुम्बिनी प्रदेशले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूले आँखाको स्वास्थ्य र दृष्टि संरक्षणमा जनचेतना अत्यावश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले दृष्टि जोगाउन प्रत्येक व्यक्तिले नियमित रूपमा आँखा परीक्षण गर्नुपर्ने बताए । उनले भने, “दृष्टि गुमेपछि उपचार कठिन हुन्छ, त्यसैले समयमा नै आँखा जाँच गराउनु अत्यावश्यक छ । जनचेतना नै दृष्टि संरक्षणको पहिलो र प्रभावकारी उपाय हो ।” डा. गौतमले आँखाको स्वास्थ्यका विषयमा सचेतना फैलाउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, दृष्टि संरक्षणमा सबै क्षेत्रका व्यक्तिहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, फत्तेवाल आँखा अस्पतालमा कार्यरत नेत्र अधिकृत निशा गौतमले आँखाको संवेदनशीलता र नियमित परीक्षणको आवश्यकता बारे जानकारी दिँदै भनिन्, “आँखा शरीरको अत्यन्त संवेदनशील अंग हो । सामान्य लापरवाहीले पनि दृष्टि गुम्ने जोखिम रहन्छ, त्यसैले नियमित जाँच अपरिहार्य छ ।”
कार्यक्रममा नेपाल दृष्टि विशेषज्ञ संघ, लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा वरिष्ठ दृष्टि विशेषज्ञ सरोज गौतमले विश्व दृष्टि दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबैलाई आफ्नै ठाउँबाट जनचेतना फैलाउने आह्वान गरे ।
वक्ताहरूले अझै पनि सर्वसाधारणमा आँखाको स्वास्थ्यप्रति पर्याप्त चेतना नहुँदा दृष्टि समस्या बढ्दै गएको उल्लेख गर्दै विद्यालयदेखि समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्नेमा जोड दिए ।
संघका सहसचिव तथा वरिष्ठ दृष्टि विशेषज्ञ तिलक कुमार साहले सहजीकरण गरेको कार्यक्रममा बाँकेका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, नेत्र विशेषज्ञ तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । विश्वभर आज पनि करोडौं मानिस दृष्टि वा दृष्टिजन्य समस्याबाट प्रभावित छन् । रोकथाम गर्न सकिने अन्धोपन घटाउनु अहिलेको विश्वको साझा चुनौती बनेको छ । कार्यक्रमले स्थानीय तहमा दृष्टि र आँखाको स्वास्थ्यबारे चेतना फैलाउने महत्त्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।