© २०२३
तिलोत्तमा, २३ असोज ।
रुपन्देहीको तिलोत्तमा–१० स्वर्ग रोहिणी देवी घाट सगरहवामा आयोजित दुई दिने दसैं मेलामा भएको २१ वर्षीय निरज थारुको कुटीकुटी हत्या भएको छ । असोज १६ र १७ गते संगम सहारा युवा क्लव तथा सगरहवा गाउँ समाजद्वारा संयुक्तरुपमा आयोजित मेलामा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा पार्किङको ठेक्का लिएका व्यक्तिहरू र स्थानीय २१ वर्षीय युवक निरज थारुबिच विवाद उत्पन्न भएको थियो ।
घटना अनुसार, मेलाको दोस्रो दिन आपसी झगडा हुँदा तिलोत्तमा–१२ बुधबारे निबासी निरजलाई प्रतिवादीहरूले कुटपिट गरे । कुटपिटका क्रममा उनी गम्भीर घाइते भएका थिए । तत्काल उपचारका लागि उनलाई क्रिमशन अस्पताल मणिग्राममा लगिएको थियो । तर अस्पतालमा भिडियो एक्सरेको सुविधा नभएकोले उनलाई राति नै देवदह मेडिकल कलेज पुर्याइएको थियो ।
देवदह मेडिकल कलेजमा पनि आवश्यक उपचार सुविधा नहुँदा उनलाई भैरहवा मेडिकल कलेजमा स्थानान्तरण गर्नुपर्यो । असोज १७ गते राति भैरहवा मेडिकल कलेज लगिएका उनको भोलिपल्ट असोज १८ गते बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये केही जनाले आफैं प्रहरीमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए भने बाँकी व्यक्तिहरूलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो । बुटवल र मंगलापुर प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले घटनाबारे जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए ।
स्थानीयवासीहरूले मेलामा पार्किङ व्यवस्थापन र सुरक्षामा ध्यान नदिएको कारण सामान्य विवादले उग्ररुप लिएको बताएका छन् । मृतकको परिवार र स्थानीय समुदायले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ र दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।