© २०२३
दाङ, २३ असोज ।
कच्ची, कमेरो माटाले लिपेको चिटिक्कको घर । वरिपरि मादलले घेरिएर बसेका घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी ।
तिहार नजिकिँदै गर्दा मादलमा खरी भर्न व्यस्त छन् उनी । तिहारका बेला मादलको माग अत्यधिक बढ्ने हुँदा उनी मादल बनाउने चटारोमा छन् । यसबाट आएको कमाइ नै उनको घर खर्च चलाउने प्रमुख माध्यम हो ।
पुरानो मादल मर्मत गर्ने र नयाँ तयार गर्ने गरेको उनले बताए । उनका बुवा गुइँठे बादीले मादल बनाउने काम गर्ने गरेको बुवासँगै काम गर्दागर्दै उनले काम सिकेको बताए । उनले भने, ‘म १२ वर्ष हुँदा देखि मादल बनाउन सिकेको हुँ ।
पहिले जमानामा पढ्ने लेख्ने काम हुँदै थ्यो । बुवाले हातमा सीप भएपछि भोकै बस्नु पर्दैन भन्नुहुन्थ्यो त्यही भएर सीप सिक्न थाले । अहिले ७० वर्ष भए यो पेसा निरन्तर दिइरहेको छु’ उनले भने । ‘बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म हामी काम गर्छौ ।
काम त अरू समय पनि हुन्छ तर तिहारमा काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारा चलेको छ ।’ उनले आफ्नो बुवाबाट सिकेको सीपलाई उपयोग गरेर आफ्ना चार छोरा र दुई छोरीको पालनपोषण गरेको बताए ।
मादल बिक्रीबाट राम्रो आम्दानी हुने र खर्च पनि चलेको उनको भनाइ छ । तिहारको समय देउसी भैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्न ल्याउने गरेकाले उनले व्यस्त भएका छन् ।
तिहारको समय मादलबाट कमाइ राम्रै हुने गरेको र मादलमा प्रयोग हुने छाला काढ्न र सुकाउन झन्झट हुने गरेको बताए । नयाँ मादलको आकार हेरेर सात हजारदेखि १५ हजार सम्ममा बिक्री हुन्छ भने पुरानो मादल मर्मत गरेको १२ सयदेखि १६ सयसम्म लिने गरेको उनको भनाइ छ ।
तिहार नजिक आउन लागेसँगै मादल मर्मत गर्न ल्याउनेको चाप बढेको छ । घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्यूठान र रोल्पा लगायतका स्थानबाट मादल बनाउन ल्याउने गरेको उनले बताए । चित्रेको काममा उनकी श्रीमती भूमि बादीले सहयोग गर्ने गर्ने गर्दछिन् ।
नयाँ बनाउन आउँदैन श्रीमानको सहयोगीको रूपमा काम गर्ने गरेको छु, उनले भनिन् । खरी बनाउने, छाला काट्ने र मर्मत गर्न सहयोग गर्ने गरेको भूमिले बताइन् ।
बुढाबुढी मिलेर काम गर्छौ खाली समय बस्नु परेको छैन काम पनि भएको छ दाम पनि भएको छ । पुर्खौली सीपलाई सदुपयोग गरेका छौँ, उनले भनिन ।
मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको उनको भनाइ छ ।
खिर्रो, मौवा, मलेतो, खमारी लगायतका काठको ढुङ्ग्रो बनाउन सकिने भए पनि मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।