© 2026
काठमान्डौ, २३ असोज ।
माइतीघर र नयाँ बानेश्वर क्षेत्र हाल उच्च सुरक्षा सतर्कतामा राखिएको छ । जेन–जी समूह र अनेरास्ववियुबीचको आरोप–प्रत्यारोप र जाहेरी दर्तासँगै सम्भावित तनाव रोक्नका लागि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको हो ।
उक्त क्षेत्रमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली तैनाथ गरिएको छ ।
जेन–जी समूहले हालै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको थियो । त्यसपछि एमाले निकट अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गरेको छ ।
प्रहरीले जेन–जी समूहको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइसकेको छ भने बालेन र सुदनविरुद्ध दर्ता भएको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
माइतीघर क्षेत्रमा एक पक्षले ब्यानर टाँग्ने र अर्को पक्षले त्यसलाई हटाएर आफ्नै ब्यानर राख्ने प्रयाससँगै सुरक्षा चुनौती बढेको थियो ।
यसपछि सम्भावित भिडन्त रोक्न र स्थिति नियन्त्रणमा राख्नका लागि माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई सुरक्षा संवेदनशील क्षेत्रका रूपमा लिएर प्रहरीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ ।