© २०२३
काठमान्डौ, २३ असोज ।
राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी गरिएको छ । सभा सञ्चालनका लागि सिंहदरवारभित्र रहेको राष्ट्रिय सभाको पुरानो सभाकक्षलाई व्यवस्थापन गरी उपयुक्त बनाउने काम सुरु गरिएको छ ।
संसद सचिवालयकी सहसचिव सीता काफ्ले वाग्लेका अनुसार, “पहिलेको राष्ट्रिय सभा हालको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा बसाउनको लागि तयारी भइरहेको छ ।” सभाको व्यवस्थापन सुरु हुनु अघि सहरी विकास मन्त्रालयको टोलीले निरीक्षण गरी आवश्यक सुझाव दिएका थिए ।
उनका अनुसार, हलमा अगाडि ड्यास बनाइने, दर्शकदिर्घा निर्माण गरिने र सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ । यो काम सरकारले समन्वयका साथ अघि बढाएको छ ।
सहसचिव काफ्लेले राष्ट्रिय सभाले मात्र अधिवेशन बोलाउन सक्ने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै, अधिवेशनमा सांसदहरूले संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वका प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरूमा छलफल गर्न सक्ने जानकारी दिइन् ।
राष्ट्रिय सभामा उत्पन्न विधेयकहरूलाई पनि यहाँ छलफल गरी पारित गर्न सकिन्छ । यसपछि विधेयक प्रतिनिधि सभाबाट पठाइन्छ र दुवै सभाबाट पारित भएपछि राष्ट्रपतिको प्रमाणीकरणबाट विधेयक ऐनमा परिणत हुन्छ ।