© २०२३
काठमान्डौ, २३ असोज ।
२३ र २४ भदौमा देशभर चलाइएको जेन–जी आन्दोलनको क्रममा मध्य नेपाल प्रहरीका ११ सयभन्दा बढी हतियार लुटिएका थिए । तीमध्ये करिब तीन सय हतियार फिर्ता भएका वा सुरक्षा निकायले बरामद गरेका भए पनि अझै ८ सयभन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै आन्दोलनकारीहरूले हतियार लुटेको घटनाका तस्बिर र भिडियोमा समेत देखिएको थियो । लुटिएका हतियार खोज्न प्रहरीले समिति गठन गरेर काम अघि बढाइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए ।
प्रहरीका हतियार अझै फेला नपरेकोले सुरक्षा चुनौती बढ्दै गएको छ भने सुरक्षाकर्मीहरूलाई आवश्यक हतियारबिना कार्य गर्नुपर्ने अवस्था सिर्जना भएको छ । केही हतियार नेपाली सेनाले बरामद गरेको थियो भने केही व्यक्तिलाई हतियारसहित पक्राउ गरिएको थियो ।
आन्दोलनका क्रममा प्रहरीका हतियार बोकेर आन्दोलनकारी अघि बढेका थिए । प्रहरीलाई आत्मसमर्पण गर्न बाध्य बनाउने, बर्दी र हतियार फुकाल्न लगाउने जस्ता घटनाहरूसमेत घटेका थिए ।
प्रहरी वृत्त महाराजगञ्जका दुई र प्रहरी प्रभाग कोटेश्वरका एक गरी तीन प्रहरी कर्मचारीले आन्दोलनमा ज्यान गुमाएका थिए भने केहीले भागेर वा आत्मसमर्पण गरेर ज्यान जोगाएका थिए ।