© 2026
काठमान्डौ, २३ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना मातहतका तीन प्रमुख निकायहरूलाई आगामी दिनका लागि ठोस र कार्यान्वयनमुखी निर्देशन दिएका छन् ।
बुधबार मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गर्दै सुधारका विभिन्न विषयमा निर्देशन दिएका हुन् ।
मन्त्री पुनले नास्टमा दुई घण्टा लामो छलफल गर्दै प्रतिष्ठानलाई एक साताभित्र उच्चस्तरीय अनुसन्धान केन्द्र कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा ठोस सुझाव पेश गर्न निर्देशन दिए । उनले नास्टका प्रयोगशालाहरू उच्च गुणस्तरका भएको उल्लेख गर्दै, अब अनुसन्धान र नतिजा पनि त्यसै अनुरूपको हुनुपर्ने उल्लेख गरे ।
त्यसपछि मन्त्री पुनले तीन घण्टा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा छलफल गरेका थिए । छलफलमा उनले शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून रहेका विद्यालयहरूको मर्ज नीति, योग्य र सक्षम प्रधानाध्यापक नियुक्तिका लागि देशव्यापी कार्यविधि निर्माण, र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री विकासमा जोड दिन निर्देशन दिए ।
पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गर्दै मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रमहरू विकास गर्दा गम्भीर र समयानुकूल ढङ्गले काम गर्न निर्देशन दिए । उनले पाठ्यक्रम परिमार्जन र अद्यावधिक समयमै गर्न, मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग गर्न, र पाठ्यपुस्तकमा नैतिक, व्यवहारिक, ऐतिहासिक र संविधानसम्बन्धी शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरे ।
उनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा १०० पूर्णाङ्कको कम्प्युटर विषय अनिवार्य रूपमा लागू गरिने भएकाले त्यसअनुसार पाठ्यक्रम विकास कार्य तीव्र बनाउन पनि निर्देशन दिएका छन् ।