© २०२३
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रूपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्दछ ।
महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०/४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ । त्यसैले उमेर २० वर्ष पछाडि र ३० वर्ष अगाडि पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । सामान्य भाषामा भन्नुपर्दा २० वर्ष पारी अनि बिहे बारी भन्ने भनाई स्वास्थ्यको नाराकै रूपमा चलेको पाइन्छ ।
विभिन्न तथ्याङ्कहरूको आधारमा भन्नुपर्दा १९५० देखि १९६० मा २३ वर्षका पुरुष र २० वर्षका महिला १९६० देखि २००३ मा २७ वर्षका पुरुष र २५ वर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ वर्षका महिला र २६ वर्षका पुरुष हरूको उपयुक्त उमेर भन्ने भेटिएका छन् भने कानुनी रूपमा पनि विवाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुवै २० वर्ष उमेर पूर्ण रूपमा पूरा भएको हुनुपर्दछ ।
विवाह २० वर्ष उमेर पूरा भइसकेपछि गर्दा महिला र पुरुष दुबैको शारीरिक परिपक्वता पूर्ण रूपमा हुनुको साथै प्रजनन अङ्गहरू परिपक्व रूपमा विकसित हुन्छन् ।
साथै उनीहरू विवाहको बारेमा बुझ्न शारीरिक र मानसिक रूपमा परिपक्व हुन सक्ने र विवाहलाई आफ्नो एउटा सकारात्मक मार्ग रेखाको रूपमा समेत लैजान सक्ने हुनाले बिहे २० वर्ष पछि गर्नु उपयुक्त मानिन्छ ।
यसका फाइदाहरू:
१. महिला तथा पुरुष दुबैमा शारीरिक परिपक्वता आउँछ ।
२. प्रजनन अङ्गहरू पूर्ण रूपमा विकसित भैसकेको हुन्छ ।
३. परिवारको योजना बनाउन सक्ने क्षमताको विकास भैसकेको हुन्छ ।
४. महिला तथा पुरुष दुवै आफूमा आत्मनिर्भर भैसकेका हुन्छन् ।
५. पूर्ण रूपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।
६. शारीरिक, मानसिक, सामाजिक, पारिवारिक तथा संवेगात्मक रूपमा परिपक्व भैसकेको हुनाले अन्य खालका नकारात्मक समस्याहरूमा झेलिनु पर्दैन ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ भने कानुनी रूपमा विवाह गर्न महिला र पुरुष दुवै कम्तीमा २० वर्ष पुरा भएको हुनुपर्दछ । महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०÷४५ वर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।
त्यसैले उमेर २० वर्ष पछाडि र ३० वर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागि बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । दुवै दम्पतीले आफ्नो जीवनको उपयुक्त समय छानी आफ्नो पढाई, काम, जागिर, व्यापार आदी दिनचर्याको कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने, कति जन्माउने, कहाँ जन्माउने, कसरी जन्माउने र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजनाबद्ध तरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । त्यही अनुसारको योजना बनाउन जरुरी छ ।
किनकि कुनै पनि काम पूर्व योजना बिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आइपर्ने र योजनाबद्ध तरिकाले गरिएका कार्यहरू सजिलै सफलताका साथ सम्पन्न हुने हुँदा योजना बनाउनु जरुरी छ । २० वर्ष उमेर पूरा नभै पहिलो गर्भधारण गर्दा आमामा निम्न जटिलता हुन सक्दछ ।
क. शारीरिक जटिलता:
धेरै टाउको दुख्नु, अत्यन्तै पेट दुख्नु, हिँडडुल गर्न अत्यन्तै असजिलो हुनु, हातखुट्टा काम्ने, वा मुर्छा पर्नु निकै कडा रूपले तल्लो पेट दुख्नु । पाठेघर रप्चर हुनु, बच्चा जन्माउँदा योनिद्वार च्यातिनु आदी ।
ख. मानसिक जटिलता:
डर लाग्नु, चिन्ता लिइरहनु, एकोहोरो हुनु जस्ता दीर्घकालीन असरहरू देखिन सक्दछन् ।
बच्चामा हुने जटिलता:
क. गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।
ख. अपाङ्गता हरूमा अटिजम, डाउन सिन्ड्रोम, पैतला अथवा हात बाङ्गिनु ।
ग. बहिरोपन ,मोतिया विन्दु ,ओठ काटिएको, मुटु सम्बन्धि समस्या आदी देखिन्छन् ।
घ. पाठेघर सानो भएको आमाहरूको कारणले बच्चाको बृद्धि विकास पूर्ण रूपमा हुन सक्दैन ।
पारिबारीक समस्याहरू:
१. शारीरिक समस्याः आमालाई दिर्घकालिन रूपमा स्वास्थ्य समस्या देखिँदा उपचार गर्दा लगातार शरिर कमजोर हुने जस्ता समस्या ।
२. आर्थिक समस्याः लगातारको उपचारमा पैसा खर्च हुने । आर्थिक पाटोमा कमजोर बनिने ।
३. मानसिक समस्याः सधै चिन्तित, डर त्रास भइरहने, पारिवारिक जटिलता समेत आउने ।
४. पारिवारिक योजना अनुसार कार्य गर्न नसकिने ।
५. पारिवारिक झन्झट, चिन्ता, तनाव अनि बैमनस्यता समेत उत्पन्न हुन सक्दछ ।
बिहे बारी र बच्चा २० वर्ष पछि गर्दा निम्नानुसारका पारिवारिक फाईदा हुन सक्दछ ।
१. निरोगी परिवार
२.सुखी परिवार
३. खुसी परिवार
४.आर्थिक रूपमा संवृद्धि
५. शिक्षा दिक्षा र चेतना बृद्वि गर्न सजिलो
६. योजनाबद्ध कार्यले गर्दा पारिवारिक झैझगडा वैमनस्य आदिबाट टाढा रहन सकिने ।
७. आमा बच्चा र परिवारलाई नै शारीरिक, मानसिक, सामाजिक, पारिवारिक र सम्बेगात्मक रूपमै सफलता हासिल हुने ।
यसकारणले गर्दा बिहेबारीलाई २० वर्ष पछाडि नै गर्नुपर्ने कुरामा सचेत बनौं । पहिलो बच्चा ३० वर्ष भित्रमा जन्माऔँ । जन्मान्तर ३ देखि ५ वर्षको कायम गरौं । यसो गर्दा हरेक बालबालिकाको स्वास्थ्यमा सकारात्मक र सुरक्षित प्रभाव पर्दछ ।