© २०२३
नेपालगन्ज ,२३ असोज ।
काठमाडौँमा जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका जेन–जी शहीद शुलभ श्रेष्ठ र आयुष थापाको सम्झनामा नेपालगन्जमा सडक र चोकको नामकरण गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ का स्थायी बासिन्दा समेत रहेका यी दुवै युवाको नाममा वडा कार्यालयले मार्ग नामकरणसहित गेट निर्माण गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष प्रमोद रिजालका अनुसार धम्बोझीस्थित प्रहरी गुल्मबाट वाटर पार्कतर्फ जाने बाटोको सुरुमा ‘शुलभ गेट’ निर्माण गरिनेछ। सो सडक खण्डको गायत्री मन्दिरसम्मको बाटोलाई ‘शुलभ मार्ग’ नामकरण गरिनेछ ।
त्यस्तै, खजुरारोडस्थित शिव मन्दिरदेखि विशालनगर चोकसम्मको बाटोलाई ‘आयुष मार्ग’ नाम दिइनेछ र विशाल चोकमा ‘आयुष गेट’ निर्माण गरिने निर्णय भएको रिजालले बताए ।
उनका अनुसार यो निर्णय वडा नम्बर १ को वडा समितिबाट औपचारिक रूपमा पारित भइसकेको छ र निर्माण कार्य स्थानीय सरकारकै लगानीमा सुरु गरिनेछ ।
गत भदौ २३ गते काठमाडौँमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका शुलभ श्रेष्ठ र आयुष थापाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
यी दुवै युवक नेपालगन्जका स्थायी बासिन्दा भएको कारण नगरमा उनीहरूको स्मृतिमा चोक र मार्ग नामकरण गर्ने निर्णयलाई स्थानीयले पनि स्वागत गरेका छन् ।
स्थानीयवासीहरूले यो कदमले शहीदहरूको बलिदानको सम्मान हुने र नयाँ पुस्तालाई नागरिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रताको मूल्य सम्झाउने विश्वास व्यक्त गरेका छन्।