Butwal Today

महिनावारीमा के खाने, के नखाने ?

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

बुटवल, २२ असोज ।

महिनावारी हरेक महिलाको स्वाभाविक जैविक प्रक्रिया हो, तर यस अवधिमा शरीरमा हुने हर्मोनल उतारचढावका कारण थकान, पेट दुखाइ, टाउको दुख्ने, मुड स्विङ, चिडचिडोपन, छाला समस्या, र पाचनसम्बन्धी असहजता हुने गर्दछ ।
यस्ता अवस्थामा खानपानले प्रत्यक्ष रूपमा स्वास्थ्य र मनोभावमा प्रभाव पार्ने चिकित्सकहरू बताउँछन् । त्यसो भए के खाने त ?

महिनावारीमा के खाने ?

१. फलफूल र सागसब्जी

स्याउ, केरा, सुन्तला, मेवा, आँप, तरबूजा जस्ता फलले शरीरमा पानी र भिटामिनको सन्तुलन कायम राख्छ ।

पालुङ्गो, मुठा, तोरीको साग, र ब्रोक्कोली जस्ता हरियो सागमा आइरन र फोलिक एसिड हुन्छ, जसले रगतको मात्रा सन्तुलित राख्न मद्दत गर्छ ।

२. फलामयुक्त परिकार

महिनावारीमा रगत बग्ने हुदाँ फलामको मात्रा बढी हुने खानेकुरा अत्यावश्यक हुन्छ ।

गेडागुडी, कालो चना, मसुरो, किड्नी बिन्स, दाल जस्ता स्रोतहरु फलामका राम्रो स्रोत हुन् ।

३. प्रोटिनयुक्त खानेकुरा

अण्डा, माछा, मासु, दही, दूध, चनाको टुसा, सलाद, वा सोया प्रोटिनका परिकार सेवन गर्न सकिन्छ ।

प्रोटिनले थकान घटाउँछ र मांसपेशीलाई बल प्रदान गर्छ ।

४. पानी र तरल पदार्थ

डिहाइड्रेशनले महिनावारीका लक्षणहरूलाई बढाउँछ । त्यसैले दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनुपर्छ ।

जुस, ग्रिन टि, सूप वा तातो दूध पनि राम्रो विकल्प हुन् ।

५. ओमेगा–३ फ्याटी एसिडयुक्त खानेकुरा

माछा (विशेष गरी ट्युनामाछा वा साल्मन), चिया सिड, फेलक्स सिड र काजु ओमेगा–३ का राम्रो स्रोत हुन् ।

यस्ता पोषक तत्त्वले महिनावारीको समयमा पेट दुखाइको समस्यालाइ कम गर्दछ ।

महिनावारीमा के नखाने ?

१. क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, कोक, एनर्जी ड्रिङ्क)

यस्ता पेय पदार्थले शरीरमा पानीको मात्रा घटाउँछ र पेट फुलिने तथा टाउको दुख्ने समस्या बढाउँछ ।

२. अति नुनिलो र प्रोसेस्ड खानेकुरा

चिप्स, प्याकेट नुडल्स, अचार, सस र फास्टफूडले शरीरमा डिहाइड्रेशनको समस्या बढाउँछ र पेट भारी बनाउँछ ।

३. चिनी र प्रशोधित कार्बोहाइड्रेट

अत्यधिक मिठाई, केक, बिस्कुट, सेतो भात र पास्ताले इन्सुलिन बढाउँछ, जसले मुड स्विङ र थकानलाई झन बढाउँछ ।

४. तेलिला र मसलेदार खाना

यस्तो खानाले पाचन शक्तिमा समस्या गराउँछ र एसिडिटी तथा बान्ता हुने समस्या निम्त्याउन सक्छ ।

५. रक्सी र धुम्रपान

रक्सीले डिहाइड्रेशन बढाउँछ र पेट दुखाइ अझ बढी गराउँछ । धुम्रपानले रक्तसञ्चारमा असर पारेर टाउको दुख्ने र शरीर थाक्ने समस्या निम्त्याउन सक्छ ।

यस अवधिमा शरीरको आवश्यकता अनुसार पौष्टिक र हल्का खाना खाने र पर्याप्त आराम गर्ने गर्नुपर्दछ ।

महिनावारीको समयमा तातो पानी पिउने, हल्का व्यायाम वा ध्यान गर्ने, पर्याप्त निद्रा लिने र क्याफिन कम गर्नाले महिनावारीका लक्षणहरूलाई निकै घटाउँछ ।

महिनावारी प्राकृतिक प्रक्रिया हो, जसमा शरीरको हरेक अङ्ग संवेदनशील हुन्छ । यस अवधिमा सही खानपान र जीवनशैली अपनाउँदा केवल शारीरिक असहजता मात्र होइन, मानसिक सन्तुलन पनि सुधारिन्छ ।

“के खाने र के नखाने” भन्ने सचेत निर्णय महिलाहरुको पहिलो कदम हो — जसले हरेक महिनालाई सहज र सशक्त बनाउँछ ।