© २०२३
काठमाडौं, २२ असोज ।
व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ६ दर्जनभन्दा बढीले सहादत प्राप्त गरेका थिए ।
‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं,’ चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं ।’
चौधरीका अनुसार, सीजी टिमले रोजगारी प्रक्रियाका लागि सम्पूर्ण शहीद परिवारसँग सम्पर्क गर्ने कार्य थालिसकेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।
यद्यपि, चौधरी समूहले यस्तो मानवीय कदम घोषणा गरे पनि आन्दोलनका क्रममा निजी क्षेत्रका रूपमा समूहले ठूलो आर्थिक क्षति भोगेको जनाएको छ ।
समूहका अनुसार, जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको हो । यो क्षति आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट भएको समूहले जनाएको छ ।
काठमाडौं सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी हुँदा भवन, मेसिन, उपकरण, मौज्दात सामान, तयारी उत्पादन र सवारीसाधन पूर्णरूपमा नष्ट भएको जनाइएको छ । त्यसैगरी, सिजी नेटको सर्भर र डाटा सेन्टरमा पनि क्षति पुगेको छ ।
राजधानी लगायतका विभिन्न स्थानमा रहेका सीजीका अन्य शोरुम, कार्यालय र सेवा केन्द्रहरूमा पनि तोडफोड तथा आगजनी गरिएको थियो ।
थापाथलीस्थित सिजी मोटर्स शोरुम, हरिसिद्धिको सर्भिस सेन्टर, रविभवन र बर्दघाटस्थित अध्यक्ष विनोद चौधरीको निजी निवास तथा कार्यालय, साथै ललितपुर, विशालनगरलगायतका शोरुमहरूमा समेत क्षति पुगेको छ ।
चितवनको भरतपुरस्थित सीजी ल्यान्डमार्क र जोरपाटीस्थित चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ ।
विद्यार्थी ओसारपसारमा प्रयोग हुने ६ वटा सवारीसाधनमा आगजनी गरिएको छ ।
प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्, ‘जेनजी आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा भएको विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । तर यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अगाडि बढिरहेका छौं । चौधरी ग्रुप र समग्र परिवारले यो कठिन समयमा पनि उच्च सम्मानसहित अघि बढ्न चाहन्छ ।’