© २०२३
हाम्रो घर आँगनमा दशैं सकिएर तिहार आईपुगेको छ । हामी सानो छँदा दशैं र तिहार भनेपछि विछट्ट रमाइलो लाग्दथ्यो ।
म यतिवेला अतितको दशैं, तिहार सम्झिरहेको छु । त्यो समयमा पढ्ने उमेर भएकाले नियमित विद्यालय जानुपर्ने, चाड शुरु भएपछि विद्यालयमा दर्शैको विदा हुने र घरमा त्यति साह्रो ठूलो काम पनि नहुने हुनाले साथीहरूसंग घुम्ने, खेल्ने, रमाउने गरेर वित्ने गर्दथ्यो ।
दशैंको दिनमा आफ्नै घरमा अभिभावकसंग टीका थापेर अनि अन्य विभिन्न वन्धुहरू तथा नातेदारका घरमा पुगेर टीका थापेको ताजै सम्झना छ । कहिले ती पुराना साथीहरूसंग भेट हुँदा ती अतीतहरू सम्झेर गफिने गर्छौं ।
हिंजोका दिनमा गरेका हाम्रा धेरै रमाइला क्षणहरू अतितमा परिणत भएका छन् । २०८२ को महान पर्व दशैं औपचारिक रूपमा सोमबारदेखि बिसर्जन भैसकेको र तिहार आँगनको डिलमा आइपुगेको हुनाले आज अतितको बढी याद आइरहेको छ ।
यस वर्ष भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा आगजनि भएका हाम्रा राष्ट्रिय संरचनादेखि विभिन्न पार्टीका कार्यालय र नेताका निजी निवाससम्म आगजनि हँुदाका खखतको धुवाँको राग अहिले पनि मडारिरहेको र पटक पटक नाकमा ठोक्किन आएको जस्तो लाग्छ ।
विश्वमा कहिं नभएको आन्दोलन नेपालमा भयो केही विश्लेषकले यस्तै भन्छन् । त्यस दिनको आन्दोलनले पुरानो गठवन्धन सरकार अपदस्त गरेको छ र नयाँ सरकार गठन भएको छ । सरकारको ठाउँमा सरकार आयो । सरकारले दैनिक कामकाज गर्ला भन्ने अपेक्षा गरौं । तर ती तोडफोड भएका हाम्रा सम्पदा चाहे राष्ट्रिय होउन चाहे पार्टीका र चाहे नेताहरूका निजी निवास होउन ती सबै छिटै तंग्रिने अवस्था छैन ।
कतिपय भवनहरू त काम नलाग्नेगरी ध्वस्त भएको कुरा विज्ञहरूले अवलोकन पछि जानकारी दिएका छन् । कतिपय भवनको छेंउँछाउँमा खतराको वोर्ड नै लगाइएको छ । यी संरचना ध्वस्त भएको कुरा त दोस्रो पाटोका कुरा भयो । यसको पहिलो पाटोमा ती हाम्रा होनहार युवाहरूको ज्यान गएको छ ।
एउटा बच्चा जन्माउनेदेखि हुर्काउने पढाउने लेखाउने कुरा कति कठिन छ ? यसमा परिवार समाज र राज्यको ठूलो लगानी लागेको हुन्छ । उसले जन्म पश्चात केही रचानात्मक कार्य अवश्य पनि गर्ने थियो । त्यस्ता होनहार नेपालीको क्षणभरमा ज्यान गएको छ ।
बलेको आगो निभाउन सकिन्छ । भत्केका संरचना ढिलो चाँडो मर्मत वा नयाँ निर्माण गर्न सकिन्छ तर ज्यान फिर्ता गर्न कदापि सकिदैन । जुन कुरा फिर्ता गर्न सकिदैन त्यस्तो कुरा लिने हर्कत किन गर्नु ? यस्तो हर्कत जो कसैले पनि कहिल्यै गर्नु हुँदैन ।
यही आन्दोलनको समयमा जति भवनहरूमा आगजनि भयो त्यति स्थानमा त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भए । ज्यान फिर्ता गर्न नसकिए जस्तै ती जलेर नष्ट भएका कागजातहरू पनि फिर्ता पाउन सकिदैन । त्यही आन्दोलनका क्रममा कतिजना घाइते हुनु भएको छ ।
एकातर्फ ज्यान गुमेको अवस्था छ भने अर्कोतर्फ अस्पताको शैयामा घाइतेहरू छट्पटाइरहको अवस्था छ । यस अवसरमा जसले ज्यानको आहुति दिनु भएको छ उहाँहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु र परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
सम्पूर्ण घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । नेपाल सरकारले मृतकका परिवारलाई रु १५ लाख प्रदान गर्ने घोषणा गरेको छ । यो रकम यथाशीघ्र प्रदान गर्नुपर्दछ । घाइतेहरूको निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भनेको छ । उक्त कार्य अटुट रूपमा गरिरहन सरकार समक्ष अनुरोध गर्नु सान्दर्भिक हुने छ ।
आज मुलुक गम्भिर मोडमा पुगेको छ । एकातर्फ नयाँ सरकार गठन भएको छ । यसै सरकारले यसै वर्षको फागुन २१ गतेका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेर दायित्व वहन गरेको छ ।
कतिपय विश्लेषकले निर्वाचन सम्भव वा असम्भवका साथमा शासकीय स्वरूपको वहस पनि चलाएको सुन्न पाइन्छ । निर्वाचन हुन्छ हुँदैनको वहस आउने वातावरण बन्नु हुँदैन । किनभने हरहालतबाट निर्वाचन सम्पन्न गरेर नयाँ सरकारलाई जिम्मेवारी सुम्पनु पर्दछ ।
कुनै पनि हालतमा निर्वाचन टार्न र सार्न हुँदैन । विगतमा निर्वाचन सार्दा र टार्दाको परिणाम हामीले भोगिसकेका छौं । निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सकिदैन भनेर अहिले शंका गर्नु भन्दा निर्वाचनका लागि सबै नेपालीले आफ्नो स्थानबाट सघाउनु पर्छ भन्नु पर्दछ ।
निर्वाचन हुँदैन भन्दै गयो भने टर्ने सम्भावना पनि रहन्छ । तर टर्ने सम्भावनालाई पनि पन्छाएर अगाडि जानु पर्दछ । यो पनि एक प्रकारको आन्दोलन हो । यसक्रममा रहेका वाधा अट्चनहरू बुझ्दै र हटाउँदै जानुपर्दछ ।
धेरै कुराको निकास भनेको निर्वाचन हो । वर्तमानमा दलप्रति उठेको कुरा निर्वाचनले किनारा लगाउने छ । निर्वाचनले जे परिणाम दिन्छ त्यो स्विकार्नु पर्दछ । निर्वाचनको परिणामलाई स्विकार्नु भनेको जनमतको कदर गर्नु हो । जनमतसंग्रहको समयमा तत्कालिन राजनीतिक दलहरूले आएको परिणाम स्विकार गरेका हुन् ।
हुन त त्यो समयमा कसरी सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा घोषणा भएको थियो त्यो कुरा प्रष्ट छ तर आएको परिणामलाई दलहरूले तत्काल सहज रूपमा लिएको इतिहास हामीसंग ताजै छ । जसले जनमतको कदर गर्न जान्दैन वा सक्दैन उसले जनताबाट मत पनि प्राप्त गर्न सक्दैन ।
भाद्र २३ र २४ को घटना देख्ने र सुन्नेहरूको मनमा अहिलेपनि एक प्रकारको त्रास बाँकी छ । कसै कसैले त अझै आन्दोलन हुनसक्छ भन्ने कुरा गर्दैछन् । किन यस्तो कुरा आएको छ ? अव आन्दोलन केका लागि गर्ने हो ? बचेखुचेका संरचना सिध्याउन ? जसरी आन्दोलन उठ्यो त्यसैगरी यसलाई बसाल्न पनि सक्नुपर्दथ्यो ।
यो बस्न नपाउँदै नेपालका अत्यधिक सम्पदा संगै महत्वपूर्ण दस्तावेज नष्ट भएका छन् । यी दस्तावेज मध्य केही राज्यका दस्तावेज थिए भने केही नागरिकसंग सम्वन्ध राख्ने खालका थिए । सबै एकै पटक खरानीमा परिणत भए । नेपालीकै हातबाट ती खरानी भएका हुन् ?
भने खरानी बनाउनेले के प्राप्त गरेहोलान ? एउटा गजवको प्रश्न खडा भएको छ । ती आगजनि भएका भवनबाट धुवाँ बन्द भएको छ तर एक प्रकारको त्रास निरन्तर बाहिर आइरहेको छ र सबै सबैलाई त्रसाइ रहेको छ ।
कतिपय भवनमा बाहिरबाट रंगरोगन गरिदैछ तर त्यो आगजनिको घटना देख्नेहरूको मनले त्यो रंगरोगन नदेखेर त्यही धुवाँको मुस्लो देखिरहेको छ । यही त्रासले होला सायद महान पर्व घर भित्र पस्दा समेत दिल खोलेर नागरिकहरूले दर्शैको शुभकामना भन्न सकेका छैनन् ।
मन खोलेर हाँस्न पनि गाह्रो लागेको छ । यस अघिका चाडहरूमा विभिन्न समयमा शुभकामना आदान प्रदानका कार्यक्रम निकै हुने गर्दथे । तर यसपटक ती कार्यक्रमका समाचार पढन र सुन्न पाइएको छैन । अझै आन्दोलनको सम्भावनाको कुराले पहिलेको भन्दा ठूलो त्रास जन्माइरहेको छ ।
यस्तो अवस्थामा हामी कसरी रमाउन सक्छौं ? धेरैका मुखबाट यही प्रश्न वारवार आइरहन्छ । जसको उत्तर दिने कोही छैन । यदि कोही भएको भए त्यतिवेला नै जसका निम्ति आन्दोलन हो त्यसका विरुद्धमा मात्र आन्दोलन हुने थियो । यस्तो भयानक विनाश देख्नुपर्ने थिएन कि ?