© २०२३
काठमाडौँ, २२ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले आज विश्वभर रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने भएकी छिन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे ४४ वटा देशमा कार्यरत राजदूतहरू तथा नियोग प्रमुखहरूसँग देशको पछिल्लो राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी र पर्यटनका विषयमा विस्तृत चर्चा गर्ने कार्यक्रम तय गरिएको छ ।
परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले छलफलपछि सम्बन्धित नियोग प्रमुखहरूलाई आवश्यक निर्देशनहरू दिने तयारी रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
जेन–जी आन्दोलनपछि केही देशहरूले नेपाली नागरिकका लागि भिजिट भिसामा रोक लगाएका छन् । यसका कारण पर्यटन आगमनमा कमी र वैदेशिक लगानीमा देखिएको असरबारे प्रधानमन्त्रीले राजदूतहरूसँग प्रत्यक्ष जानकारी लिने र समस्याको समाधानका उपायहरूबारे सुझाव आदान–प्रदान गर्ने बताइएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको उक्त छलफलले नेपालका कूटनीतिक नियोगहरूबीच समन्वय सुदृढ गर्न र देशको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।