© २०२३
बुटवल, २२ असोज ।
इटालीको बोलजाने सहरमा घरपालुवा कुकुरका मालिकमाथि विशेष कर लगाउने तयारी गरिएको छ । प्रस्तावित नयाँ नियम अनुसार स्थानीय बासिन्दासँगै अन्य सहर वा देशबाट आउने पर्यटकले पनि आफ्ना कुकुरका लागि कर तिर्नुपर्नेछ ।
सहर प्रशासनले सार्वजनिक स्थानमा फैलिएको कुकुरको फोहोर नियन्त्रण गर्नका लागि यो व्यवस्था ल्याउन लागेको हो । नयाँ कानुन लागू भएपछि कुकुरका मालिकले आफ्नो कुकुरको डीएनए परीक्षण अनिवार्य रूपमा गराउनुपर्नेछ, जसबाट फोहोरको श्रोत पहिचान गर्न सकिनेछ ।
न्यूयोर्क पोस्टमा प्रकाशित प्रतिवेदनअनुसार बोलजाने सहरका प्रान्तीय परिषद् सदस्य लुइस वाल्चरले कुकुर करको अवधारणा अघि सारेका हुन् । उनका अनुसार यसअघि डिएनए परीक्षणमार्फत पञ्जीकृत कुकुरका मालिकहरूलाई दुई वर्षसम्म कर छुट दिइनेछ ।
प्रस्तावित कानुनअनुसार, सहरमा कुकुर ल्याउने पर्यटकले दैनिक डेढ युरो शुल्क तिर्नुपर्नेछ भने स्थायी बासिन्दाले भने वार्षिक १०० युरो कर तिर्नुपर्नेछ । यो नियम सन् २०२६ बाट लागू गरिने योजना छ ।
वाल्चरका अनुसार “हाम्रो सहरका सडकमा हुने फोहोरको प्रमुख कारण कुकुरको दिसा हो । यदि यो कानुन पारित भयो भने उठाइने करको केही हिस्सा सडक सरसफाइ र कुकुरका लागि विशेष पार्क निर्माणमा खर्च गरिनेछ ।”
उनीहरूले यो पहलले सहरलाई सफा राख्न, कुकुर मालिकहरूलाई जिम्मेवार बनाउन र वातावरणमैत्री नगरीय व्यवहार प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्मरणीय छ, बोलजाने सहरमा यस्तै प्रकारको कुकुर कर सन् २००८ मा खारेज गरिएको थियो, जसलाई अब पुनः लागू गर्ने तयारी गरिएको हो ।
तर, पशु अधिकारकर्मीहरूले भने यो प्रस्तावलाई “अनावश्यक र विभेदपूर्ण” भन्दै आलोचना गरेका छन् । उनीहरूको भनाइमा, “कुकुरमाथि यस्तो कर लगाउने प्रथा युरोपका अधिकांश देशमा धेरैअघि अन्त्य भइसकेको” हो ।
स्थानीय प्रशासनले भने यो नीति सार्वजनिक सरसफाइ सुधार र जिम्मेवार नागरिक व्यवहार प्रवर्द्धनका लागि आवश्यक कदम भएको जनाएको छ ।