© २०२३
काठमाडौँ, २२ असोज ।
राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई धैर्य, संयमता र विधिको शासनका आधारमा आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै आयोगले जेन–जी पुस्तासँग सम्बन्धित समूहहरूले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन तथा त्यसका गतिविधिबाट शान्ति–सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । साथै, हाल विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूबाट अभिव्यक्त विचार तथा गतिविधिहरूले मानव अधिकारको उपभोगमा अवरोध पुर्याउने अवस्था देखिएकाले आयोगले यसलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेको छ ।
आयोगका अनुसार हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र अरू व्यक्तिलाई लक्षित नकारात्मक टिप्पणीहरूले सामाजिक सद्भाव खल्बलिने र समग्र राजनीतिक वातावरण नै धुमिल हुने जोखिम बढेको छ । त्यसैले आयोगले सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, विधिको शासनको प्रत्याभूति र सामाजिक सद्भावको संरक्षण राज्य र नागरिक दुवैको साझा जिम्मेवारी भएको स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।”
त्यस्तै, आयोगले सबै राजनीतिक दल, समूह र सरोकारवालाहरूमाथि मर्यादित र संयमित ढङ्गले अभिव्यक्ति र प्रदर्शन गर्न, घृणायुक्त तथा विभाजनकारी वक्तव्यबाट टाढा रहन र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत लोकतान्त्रिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।