© २०२३
काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० वरीयतामा एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेका छन् । यसअघि उनी दोस्रो स्थानसम्म उक्लिएका थिए ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार, अलराउन्डर श्रेणीमा पाकिस्तानका सइम अयुब पहिलो स्थानमा छन् भने जिम्बाब्वेका सिकन्दर राजा दोस्रो, भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा रहेका छन् ।
अन्य नेपाली खेलाडीहरूमध्ये कुशल भुर्तेल २५औँ, रोहित पौडेल ४४औँ, गुल्सन झा ५९औँ, कुशल मल्ल ६७औँ र करण केसी ८६औँ स्थानमा छन् ।
टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ६४औँ स्थानमा छन् । त्यसैगरी, रोहित पौडेल ७१औँ, आसिफ शेख ७३औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । यस वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा रहेका छन् । इङ्ल्यान्डका फिल साल्ट दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा छन् ।
बलिङ वरीयतामा नेपाली खेलाडी ललित राजवंशी ४८औँ स्थानमा रहेका छन् भने दीपेन्द्रसिंह ऐरी ७८औँ र सन्दीप लामिछाने ८७औँ स्थानमा छन् । यस वरीयतामा भारतका वरुण चक्रवर्ती पहिलो स्थानमा छन् । अफगानिस्तानका राशिद खान दोस्रो र वेस्ट इन्डिजका एकेल होसेन तेस्रो स्थानमा छन् ।