© २०२३
काठमाडौँ, २२ असोज ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अनुकूल वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले सरकारका तर्फबाट निष्पक्ष र समयमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरिसकेकी छन् । मन्त्री खरेलले सञ्चार क्षेत्रले जनचेतना अभिवृद्धि र विश्वास निर्माणमा सहयोग पुर्याएर निर्वाचनको वातावरण सुदृढ गर्न सक्ने विश्वास व्यक्त गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनसँगै सुशासन स्थापन, भ्रष्टाचारको अन्त्य, जेन–जी आन्दोलनका क्रममा भएको जनधन क्षतिको छानबिन तथा कारबाही र प्राकृतिक विपद्पछिको राहत तथा पुनःस्थापना सरकारका अन्य प्रमुख जिम्मेवारी रहेको स्पष्ट पारे ।
उनले आसन्न निर्वाचनको तयारीका सन्दर्भमा राजनीतिक दलहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष संवाद जारी रहेको पनि बताए ।