© २०२३
काठमाडौँ ।
कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोले भत्काएका वा बगाएका सबै घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को आजको बैठकले पीडितका सबै घर निर्माण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लाका घरहरूलाई प्राथमिकता दिई तत्काल निर्माण सुरु गरिने जानकारी दिएको छ ।
बैठकले प्रभावित क्षेत्रका घरहरूको विवरण संकलन गर्दै पुनर्निर्माण कार्य सँगसँगै अघि बढाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले इलाम जिल्लाका सात वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
राहत तथा पुनःस्थापनामा प्रभावकारी समन्वयका लागि प्रदेश सरकारले जिम्मेवारी तोकेको छ । इलाम जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई खटाइएको छ ।
उक्त टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई तीव्रता दिनेछ । सुनसरी जिल्लामा वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र कानुन मन्त्री भण्डारीले समन्वय गर्नेछन् ।
झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई समन्वय र पुनर्निर्माणको जिम्मा दिइएको छ । बैठकले चालु आर्थिक वर्षको बजेट र योजनाहरू समीक्षा गरी आवश्यक कटौती गरेर पुनर्निर्माणमा खर्च गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई सबै प्रकारका अवरुद्ध सडकहरू तत्काल खुलाउने निर्देशन दिइएको छ । मुख्यमन्त्री कार्कीले राहत र पुनर्निर्माणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
विपद् व्यवस्थापन महाशाखाका प्रमुख कमल थापाका अनुसार, बैठकले सम्पूर्ण नागरिक, उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, र सरकारी कर्मचारीलाई सहयोग र सहकार्यको लागि आह्वान समेत गरेको छ ।