Butwal Today

लोपोन्मुख कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता 

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

दाङ,२२ असोज । 

लोप हुन लागेको कुसुन्डा भाषा संरक्षणका लागि विभिन्न चरणका भाषा कक्षा सञ्चालन भएका छन् ।   स्वर्गद्वारी नगरपालिका– २ का निर्मला कुसुन्डाले लोपोन्मुख हुन लागेको आफ्नो मातृभाषा सिक्ने अवसर पाइन् । उनको जिल्लामा सञ्चालन भएको भाषा कक्षामा सहभागी हुन पाएकोमा धेरै खुसी लागेको बताइन् ।

ब्रिटिस काउन्सिल र आर्काभ नेपाल काठमाडौँको सहयोगमा तीन महिनासम्म चलेको भाषा कक्षामा उनी सहभागी भएकी हुन् । आफ्ना घरपरिवारमा पनि बोल्न छोडेको भाषा संरक्षण गर्न पाउँदा धेरै खुसी लागेको बताइन् ।

सरुमारानी गाउँपालिका वडा नं.– ६,बुढिचौरमा तीन महिनासम्म विशिष्ट चरणको लोपोन्मुख कुसुन्डा भाषा कक्षा सञ्चालन भएको थियो । भाषा कक्षामा सहभागीहरूले घरपरिवारमा कुराकानी गर्दा र दैनिक जीवन आफ्नो मातृभाषा प्रयोग बताएका छन् ।

२०८२ असार १० गतेदेखि असोज १० गतेसम्म तीन महिनासम्म चलेको विशिष्ट चरणको भाषा कक्षाको पाठ्यक्रम निर्माण एवं प्रशिक्षण अनुसन्धानकर्ता उदयराज आलेले गरेका थिए ।  भाषा कक्षामा ११ जना  सहभागीमध्ये २ जना गैर कुसुन्डा रहेका थिए ।

भाषा कक्षामा सरुमारानी गाउँपालिका वडा नं. ६ का ८ जना र स्वर्गद्वारी नगरपालिका वडा नं. २ का तीन जना सहभागी भएको  प्रशिक्षक आलेले बताए । लोपोन्मुख हुन लागेको भाषा संरक्षण र दैनिक जीवनमा मातृभाषा प्रयोग गर्नका लागि  भाषा कक्षा सञ्चालन गरिएको अनुसन्धानकर्ता आलेको भनाइ छ ।

भाषा आयोगको सहयोगमा दाङको घोराही उपमहानगरपालिका – ५ मा रहेको महेन्द्र मावि धर्नामा १२ जनालाई पहिलो,दोस्रो, तेस्रो र चौथो चरणको कक्षा दिएर भाषा सिकाउने काम भैसकेको उनले बताए । त्यसै गरी घोराही उपमहानगरपालिकाको वडा नम्बर १८को सुपैलाखुटीमा १२ जना गरि २४ जनालाई भाषा सिकाइएको बताए ।

कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा नेपालभर एक सय ६१ जना जनसङ्ख्या रहेको उनले जानकारी दिए ।  लोपोन्मुख कुसुन्डा भाषाका  एक मात्रै पूर्ण वक्ता  कमला सेन जीवित छन् ।

उनीसँगै भाषा लोप हुने चिन्ता लागेको समयमा पछिल्लो पुस्तालाई बोल्न र लेख्न सिकाएर भाषा जीवित हुने आसा रहेको पूर्ण वक्ता सेनले बताइन् । भाषा लिपिबद्ध पनि भएको छ, नयाँ पुस्ताले चासो राखेर अध्ययन गरेका छन् अब भाषा संरक्षण हुन्छ भन्नेमा विश्वस्त भएको उनले बताइन् ।