Butwal Today

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले बैठक बोलाएका हुन्। एक पदाधिकारीका अनुसार बैठक बिहीबार दिउँसो बस्नेछ।

भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले स्वास्थ्य लाभ गरिरहेका छन्। यहीबीच कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको छ।

यहीबीच कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।

नियमित महाधिवेशन गर्न सक्ने अवस्था नभए विशेष महाधिवेशनको कुरा पनि उठिरहेको छ। महामन्त्री गगनकुमार थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्।

उनीहरुले अर्का नेता शेखर कोइरालासँग परामर्श गरी विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्।