© २०२३
नवलपरासी, २२ असोज ।
चर्को ब्याज असुली गर्ने (मिटरब्याजी) साहुको विरुद्धमा सङ्घर्ष गर्दै आएका पीडितहरूले आफ्ना विभिन्न माग राखेर स्थानीय सरकारका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल नवलपरासीले स्थानीय सरकारका प्रमुखलाई किसानको जग्गाको लिलामी प्रक्रियाका लागि घर गोठ सिफारिस गर्दा एक पटक सम्बन्धित किसानसँग छलफल गराएर मात्र गर्नु पर्ने माग राखेका हुन् ।
ऋण दिँदा दिएको रकम भन्दा बढीको रकम उल्लेख गरि कागजातमा सही छाप गराएका मिटरब्याजी साहुले अहिले उक्त जग्गा लिलाम बिक्री गर्दा किसान भूमिहीन बन्ने अवस्थामा पुगेका छन् ।
न्यायका लागि एक पटक स्थानीय तहबाट घर गोठ सिफारिस गर्दा मिटर ब्याजसँग जोडिएका जग्गाको धनीसँग छलफल गराई मात्र दिन उनीहरूले अनुरोध गरेका थिए ।
मिटर ब्याज विरुद्धको किसान मजदुर आन्दोलन नेपाल नवलपरासीका अध्यक्ष कुल बहादुर थापा सहितको टोलीले साहुहरूले चर्को ब्याज असुल्दै लगेको र अहिले सरकारले कानुन नै बनाएर राजपत्रमा प्रकाशित गरेको अवस्थामा पनि कानुनी छलछाम गर्दै जग्गा हड्पने दाउमा लागेको आरोप लगाएका थिए ।
मंगलबार सरावल गाउँपालिका प्रमुख शुखाडी प्रसाद चौधरीलाई उक्त ध्यानाकर्षण पत्र बुझाउँदै आग्रह गरेका थिए । मिटर ब्याजसँग जोडिएका कित्ता नम्बर सहितको विवरण गाउँपालिकाको न्यायिक समिति र वार्ड कार्यालयमा बुझाउन आग्रह गर्दै अध्यक्ष चौधरीले सकेसम्म मेलमिलापको माध्यमले न्याय दिलाउनमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।