Butwal Today

बालेन शाह र सुदन गुरुङविरुद्ध अर्को उजुरी

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी समूहका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीले अर्को उजुरी दर्ता गरेको छ ।

बुधबार युवराज पौडेल ‘सफल’ नाम गरेका व्यक्तिले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । सुरुमा स्वयम् प्रहरी कार्यालय गएका सफलको उजुरी लिन प्रहरीले अस्वीकार गरेपछि उनले हुलाकमार्फत उजुरी पठाएका थिए ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार, उजुरी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइनेछ ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र गुरुङविरुद्ध उजुरी दिएको थियो । सफलले उजुरीमा उल्लेख गरेअनुसार, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा हिंसा र तोडफोड मच्चाउन बालेन र गुरुङको प्रमुख भूमिका थियो ।

उनको दाबी अनुसार, बालेनले आन्दोलनको योजना बनाएको, डिजाइन गरेको र सामाजिक सञ्जालमार्फत समूहलाई उक्साएको थिए । साथै, उनीमाथि विभिन्न गतिविधिका लागि निर्देशन दिएको आरोप पनि लगाइएको छ ।

सुदन गुरुङले सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा आगजनी गर्न निर्देशन दिएको र आन्दोलनलाई विध्वंसात्मक बनाउने योजनामा संलग्न रहेको आरोप पनि उजुरीमा उल्लेख छ ।

उक्त उजुरीमा बालेनले दुई वर्षअघि श्रीमती सवार गाडी जाँच गर्ने क्रममा प्रहरीलाई “सिंहदरबार जलाइदिन्छु” भन्ने धम्की दिएको दाबी गरिएको छ ।

सफलले आन्दोलनको क्रममा, ओलीको राजीनामा आएपछि बालेनले फेसबुक स्टाटसमार्फत आन्दोलन रोक्न निर्देशन दिएको, नेपाली सेनासँग वार्ता गर्न र संसद् विघटन गराउन उक्साएको समेत उजुरीमा उल्लेख गरेका छन् ।

त्यसैले, उनले बालेनलाई आन्दोलनको नेतृत्वकर्ता मानिएको तर्क गरेका छन् । उनको आरोपमा यो पनि छ कि बालेन विदेशीको इसारामा हाल प्रधानन्यायाधीश र न्यायाधीशहरूको राजीनामा माग गराउने अभियानमा संलग्न छन् ।

सफलको दाबी अनुसार, सुदन गुरुङको टोली आन्दोलनमा मिसिएपछि मात्र गोली चल्न थालेको र त्यसपछि वास्तविक जेनजी सहभागीहरूले आन्दोलन छोडेको कारण उनीहरूलाई अनुसन्धान गर्नु आवश्यक छ ।

यस आधारमा बालेन शाह र सुदन गुरुङमाथि राजद्रोहसम्बन्धी कसुरमा हदसम्मको कानुनी कारबाहीको माग गरिएको छ । त्यसैगरी, सुदन गुरुङले पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा उजुरी दिएका छन् ।

उनको उजुरी पनि प्रहरीमार्फत उही जाँचबुझ आयोगमा पठाइने भएको छ ।