Butwal Today
महिला टी–२० शृंखला

मलेसियालाई हराउँदै नेपालले गर्‍यो बराबरी

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियामा आज (मंगलबार) सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृंखलामा २–२ को बराबरी कायम गरेको हो ।

शृंखलाको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा १३ रनले पराजित नेपालले आजको चौथो खेलमा शानदार जित निकालेको हो ।

मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्मा ३९ बलमा अविजित ४८ रन बनाउँदै विजयी खेलको नायक बनिन् । त्यस्तै, रुबिना क्षेत्रीले २३ बलमा २३ रन जोडिन् ।

मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक–एक विकेट लिएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

उसका लागि मास एलिसा अविजित ५६ रन बनाउँदै शीर्ष स्कोरर रहिन् । माहिराले १८ र नुर दानियाले १५ रनको योगदान दिइन् ।

नेपालका लागि कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान १–१ विकेट लिए ।

अब शृंखलाको निर्णायक तथा अन्तिम खेल बुधबार हुने छ ।