© २०२३
काठमाडौं ।
जेन–जी समूहको धम्कीपछि राजधानीका संवेदनशील स्थानहरूमा आज बिहानैदेखि प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ। बिहान ७ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था गरिएको हो।
प्रहरी स्रोतका अनुसार ती स्थानहरूमा “छानिएका” दक्ष प्रहरी अधिकृतहरूलाई बोलाई खटाइएको छ। संवेदनशील क्षेत्रमा भीड जम्मा हुने वा सुरक्षालाई चुनौती दिने गतिविधि देखिएमा परिस्थितिअनुसार बल प्रयोग गर्ने निर्देशन दिइएको कमाण्डो अधिकृतले बताएका छन्।
सोमबार राति प्रधानमन्त्री निवासमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेन–जी समूहले कार्यालयमै आएर दिएको धम्कीप्रति कडा आपत्ति जनाएका थिए। प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रहरीको मनोबल कमजोर पार्ने कुनै कार्य स्वीकार्य नहुने बताएकी थिइन्।
प्रधानमन्त्रीको निर्देशनअनुसार आज बिहानैदेखि दुई स्थानमा कमाण्डो टोली परिचालन गरिएको हो। ती टोलीहरूलाई भिड नियन्त्रणका लागि चेतावनीदेखि आवश्यक परे बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको छ।
यसअघि जेन–जी समूहका संस्थापक सुधन गुरुङको नेतृत्वमा रहेको टोलीले हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेको थियो। तर प्रहरी प्रशासनले भदौ २३–२४ मा भएको घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो।
प्रहरीको अस्वीकारपछि सुधन गुरुङको टोली “अब सडकबाटै देखाउँछौं” भन्दै बाहिरिएको थियो। सुरक्षाको संवेदनशीलता हेरी काठमाडौं उपत्यका प्रहरी परिसरले हिजो साँझ नै सबै प्रहरी बिटका टोलीहरूलाई फिर्ता बोलाएको जनाएको छ।