© २०२३
वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी समूहको सडक प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै गृहमन्त्रीलाई प्रदर्शन रोक्न पहल गर्न सुझाव दिएका छन् ।
जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी महानिरीक्षकसहितका वरिष्ठ अधिकारीहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।
भेटमा प्रहरी अधिकारीहरूले हालको संवेदनशील अवस्थामा सडक प्रदर्शन हुँदा हुनसक्ने जोखिमहरूबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
‘ प्रहरीका बर्दी लुटिएका छन् । हतियार पनि लुटिएका छन् । ती हतियार चलाउन जान्ने, जेलबाट भागेका पेशेवर अपराधीहरू अझै फरार छन्,’ गृह मन्त्रालयका एक अधिकारीले प्रहरीको भनाइ उद्धृत गर्दै भने, ‘यदि उनीहरूले ती बर्दी र हतियार प्रयोग गरेर प्रदर्शनमा गोली चलाए भने, सक्कली र नक्कली छुट्याउने अवस्था हुँदैन । त्यसैले, कम्तीमा सडक प्रदर्शन नगर्न गृहमन्त्रीज्यूले नै जेनजी समूहलाई आग्रह गर्नुपर्छ ।’
गृहमन्त्री अर्यालले भने २३ गतेको आन्दोलनमा संलग्न सुरक्षा अधिकारीहरूविरुद्ध जाहेरी नलिएसम्म जेनजी समूहको आक्रोश शान्त पार्न नसकिने बताए । उनले आफूले मात्रै आग्रह गरेर प्रदर्शन रोकिने अवस्था नभएको स्पष्ट पारे ।
तर, प्रहरी अधिकारीहरूले कानुनी प्रक्रिया अनुसार जाहेरी दर्ता गरिने व्यवस्था मिलाउन गृहमन्त्रीले पहल गर्नुपर्ने धारणा राखे । साथै, गृह मन्त्रालयले सूचना प्रकाशित गरी शान्ति सुरक्षा कायम गर्न प्रदर्शन नगर्न आग्रह गर्नुपर्ने माग पनि राखे ।
प्रहरी अधिकारीहरूले लुटिएका हतियार र बर्दी फिर्ता गराउने विषयमा पनि गम्भीर चासो व्यक्त गरे ।
‘गृह मन्त्रालयको आग्रहअनुसार चाडपर्वसम्मका लागि हतियार फिर्ता गराउने समय थपिएको थियो । तर अहिलेसम्म एक थान पनि हतियार फिर्ता भएको छैन,’ एक प्रहरी अधिकारीले भने, ‘यदि ती हतियार वास्तविक जेनजी समूहले लगेका हुन्थे भने यससम्ममा फिर्ता भइसक्थे । अब ती हतियार हामी आफैंका लागि चुनौती बनेका छन् । त्यसैले, फिर्ता नगर्नेहरूमाथि कडा कारबाही अघि बढाउनुपर्छ ।’
गृहमन्त्रीले लुटिएका हतियार सुरक्षाको दृष्टिकोणले चुनौती बनेको स्वीकार गरे पनि त्यसबारे ठोस निर्देशन भने दिएका छैनन् ।
प्रहरी अधिकारीहरूले कर्तव्य पालनाको क्रममा आक्रमण र लुटपाटका घटनामा संलग्नलाई कारबाही गर्न नसकिँदा संगठनभित्र मनोबल खस्किएको गुनासो गरे ।
‘आगामी दिनमा हुने प्रदर्शनमा प्रहरी कसरी परिचालन हुने भन्नेमा अन्योल छ,’ एक अधिकारीले भने, ‘शान्ति सुरक्षा कायम राख्न प्रहरीको मनोबल खस्किन दिनु हुँदैन ।’
गत भदौ २३ र २४ गते जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको माग राखेर काठमाडौंमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी कार्यालयहरूमा आगजनी हुनुका साथै हतियार लुटिएको थियो ।
प्रहरीका अनुसार करिब १,२०० हतियार लुटिएका मध्ये नेपाली सेनाको सहयोगमा ३०० हतियार मात्रै फिर्ता भएका छन् । बाँकी हतियार अझै फेला परेको छैन ।