Butwal Today

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले आयोगमा बुझायो

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै लगाइएको जाहेरी काठमाडौं प्रहरीले लिएर आयोगमा पठाएको छ ।

जेनजी आन्दोलनका घाइतेका परिवारले प्रहरी परिसर काठमाडौंले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा जाहेरी पठाएको जानकारी दिएका छन् ।

प्रहरी परिसरका एसपी पवन भट्टराईले भने, ‘जाहेरी बुझेर हामीले गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगमा पठाएका छौं । यो हाम्रो क्षेत्रको कुरा नभएकोले कार्यक्षेत्र भएको आयोगमा पठाइएको हो ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जेनजीहरूले सामाजिक सञ्जालमा ट्रेन्ड समेत चलाएका थिए ।

‘हामी नेपाली’ का संयोजक सुदन गुरुङसहित जेनजीका प्रतिनिधिहरूले यसअघि सरकारलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटार पुगेर प्रधानमन्त्रीलाई यसबारे दबाब दिएका थिए । जेनजी र बालेन्द्र शाहको दबाबपछि गएराति सरकारले सुरक्षा प्रमुखहरूसँग यसबारे छलफल गरेको थियो ।