© २०२३
हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।
भारतीय प्रहरीले जनाएअनुसार मारिएका व्यक्ति भीम जोरा हुन्, जो कुख्यात अपराधी मानिन्थे । उनीविरुद्ध सूचना दिने व्यक्तिलाई एक लाख रुपैयाँको इनामको घोषणा समेत गरिएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार, दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा जोराको मृत्यु भएको हो । उक्त जानकारी भारतीय प्रहरीले मंगलबार बिहान दिएको हो ।
भीम जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न नेपाली गिरोहका नेता थिए । उनीविरुद्ध थुप्रै आपराधिक मुद्दा दर्ता थिए । तीमध्ये, मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपा मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरबाट २० लाख रुपैयाँ चोरी गरिएको घटना प्रमुख छन् ।
चोरीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले जोराका एक सहयोगीलाई नियन्त्रणमा लिएपछि सोधपुछमा जोरा नै योजनाकार रहेको खुलेको थियो ।
सोमबार राति भएको कारबाही गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा सञ्चालन गरिएको थियो । प्रहरी अनुसार, जोराले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी गम्भीर घाइते भए ।
इन्स्पेक्टर नरेन्द्र शर्माले गोली लाग्नबाट जोगिन सफल भएको जनाइएको छ । घाइते जोरालाई तत्काल एम्स ट्रमा सेन्टर लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । घटनास्थलबाट भाग्न प्रयास गरेका जोराका एक सहयोगी भने फरार भएका छन् ।
यसअघि, उक्त गिरोहले गुडगाउँको सेक्टर ४९ मा गरेको चोरी घटनासम्बन्धी अनुसन्धानका क्रममा जोराका अर्का सहयोगी युवराज थापा पक्राउ परेका थिए ।
भीम जोरा भारतका विभिन्न राज्यका पुराना आपराधिक घटनाहरूमा पनि जोडिएका थिए । तीमध्ये सूरत (२०१४), कर्नाटक (२०२२), र गाजियाबाद (२०२२) मा भएका घटनाहरू उल्लेखनीय छन् ।
जोराको गिरोहले धनी घरहरूमा काम पाउने बहानामा नक्कली आधार कार्ड प्रयोग गर्थे । पछि ती घरका सदस्यहरूलाई नशालु पदार्थ खुवाएर वा बन्धक बनाएर मूल्यवान सामान लुटी नेपाल भाग्ने गर्थे ।
गिरोहका सदस्यहरूलाई घरेलु कामदारको रूपमा ती घरहरूमा घुसाइन्थ्यो । यसरी सूचना संकलन र मौका पारी डकैती गरिन्थ्यो । मे २०२४ मा डा. पौलको हत्या पछि जोरा आफ्नी श्रीमती वर्षासँगै फरार भएका थिए । डा. पौलको हत्या जांगपुरा एक्सटेन्सनस्थित उनको घरको भान्सामा भएको थियो ।
हत्या घटनामा लामो समयदेखि डाक्टरको घरमा काम गर्दै आएकी घरेलु कामदार बसन्ती संलग्न थिइन् । उनले डाक्टरसँग भएको नगद र गरगहनाको विवरण जोराको गिरोहसँग साझा गरेकी थिइन् ।