© २०२३
काठमान्डौ, २१ असोज ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाइ हराएको छ । क्वालालम्पुरमा सम्पन्न खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलालाई २–२ को बराबरीमा ल्याएको हो ।
मलेशियाले दिएको ११२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा इन्दु वर्माले अविजित ४८ रनको योगदान दिँदै उत्कृष्ट प्रदर्शन गरिन् । त्यस्तै, कप्तान रुविना क्षेत्रीले पनि अविजित २३ रन जोडिन् । मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान एक–एक विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले ५ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । मलेशियाका लागि मस एलिसा उत्कृष्ट प्रदर्शन गर्दै ५६ रन बनाइन् । बलिङतर्फ नेपालकी कविता कुँवरले ३ विकेट लिँदै बलिङको नेतृत्व गरिन् भने पुजा मल्ल र कविता जोशीले समान एक–एक विकेट हात पारे ।
यो जीतसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ ।