© २०२३
काठमान्डौ, २१ असोज ।
विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन भएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ ।
समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर आज उनीहरूले भौतिक उपस्थितिमा टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।
समूहका नेता रिजन राना (आदित्य)ले भने, “हामीले आज भौतिक उपस्थितिमा पत्र दर्ता गर्यौं । यदि राजीनामा नआए, अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले त्यसबारे सल्लाह चलिरहेको छ ।”
यसअघि जारी विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाउँदै आयोगले आफ्नो विश्वसनीयता गुमाएको दाबी गरेको थियो ।
विज्ञप्तिअनुसार, आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना गरेको थियो, जसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाएको उल्लेख गरिएको छ । अलायन्सले विशेष अदालतको हालसालैको निर्णय उद्धृत गर्दै प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’को टिप्पणी आएको र यसले उनको निष्पक्षतामा प्रश्न उठाएको बताए ।
समूहले नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिद जस्ता ठूला प्रकरणहरूमा प्रमुख आयुक्तको नाम जोडिँदै आएको उल्लेख गर्दै, नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग गरेको छ ।
अहिले संघीय संसद नभएकाले महाअभियोगमार्फत पदमुक्ति सम्भव नभएकाले, राजीनामाबाटै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने समूहको भनाइ छ ।
हाल, जेनजी मुभमेन्ट अलायन्समा ३९ जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह आवद्ध छन् ।
