Butwal Today

निर्वाचन आयोगले प्रधानमन्त्रीसँग छलफल गर्दै

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २१ असोज ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग औपचारिक छलफल र संवादको प्रक्रिया सुरु गर्ने भएको छ ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन तयारीबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा प्रधानमन्त्रीसँग हुने भेटवार्तामा निर्वाचन तयारीका सम्पूर्ण पक्षहरूबारे चर्चा हुनेछ ।

निर्वाचनको तयारी, शान्ति–सुरक्षा, मतपेटिका र मतपत्रलगायत सामग्रीको व्यवस्थापन, मतदाता नामावलीका विषयमा छलफल हुने घिमिरेले बताए ।

प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि संवादको श्रृंखला सुरु गर्ने तयारी गरेको छ । घिमिरेका भनाइअनुसार, अब छिट्टै सबै राजनीतिक दलहरूसँग बैठक राख्ने गृहकार्य भइरहेको छ । आयोगले तयारीको अवस्थाबारे जानकारी दिने र कुनै विषयमा भ्रम भए त्यसलाई स्पष्ट पार्ने उनले जानकारी दिए ।

आयोगका अनुसार यस संवाद प्रक्रियाबाट निर्वाचनको तयारी, समन्वय र स्पष्टतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।