© २०२३
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलका प्रतिनिधिसँग छलफलको तयारी गरिरहेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार असोज ३० गते दलका प्रतिनिधिसँग छलफल आयोजना गरिनेछ ।
‘फागुन २१ को निर्वाचन सम्बन्धमा दलका प्रतिनिधिसँग छलफल गर्ने तयारीमा आयोग लागेको छ,’ भण्डारीले भने, ‘आयोगले आजै सम्बन्धित दललाई औपचारिक पत्र पठाउने छ ।’
उनले थपे, ‘शीर्ष दलहरू त स्वाभाविक रूपमा सहभागी हुने भएकाले उनीहरूलाई पत्र काटिन्छ । साथै कम्तिमा वडा सदस्य जितेको दललाई पनि छलफलमा बोलाइन्छ ।’
उक्त छलफलमा निर्वाचन कार्यतालिका कार्यान्वयनसम्बन्धी विषयमा पनि विचार-विमर्श हुनेछ । भण्डारीका अनुसार दलहरूले आयोगलाई सम्पर्क व्यक्ति तोकेका छन् र ती व्यक्तिसँग परामर्श गरी छलफल आह्वान गर्न लागिएको हो ।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दासमेत दलहरूसँग परामर्श र छलफल नभएको भन्दै नेताहरूले आपत्ति जनाइरहेका बेला आयोगले छलफलको मिति तय गरेको हो ।