© २०२३
बुटवल, २१ असोज ।
लुम्बिनी प्रदेशमा यस वर्षको दसैँ अवधिमा सवारी दुर्घटनाको दर उच्च रहेको छ । असोज ६ गतेदेखि १९ गतेसम्मको १४ दिने अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना सामान्य घाइते भएका छन् । उनले पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा दुर्घटनाको दर निकै बढी रहेको जानकारी दिए ।
मृतक मध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका छन् । गम्भीर घाइतेमा ९६ पुरुष, ३२ महिला र १९ बालबालिका रहेका छन् । त्यस्तै, सामान्य घाइतेमध्ये ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मात्र १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० जना गम्भीर घाइते र ११९ जना सामान्य घाइते भएका छन् ।
त्यसैगरी नवलपरासी पश्चिममा ५० दुर्घटनामा २ जना गम्भीर र ५७ जना सामान्य घाइते भएका छन् । कपिलवस्तुमा ४४ दुर्घटनामा ३ जनाको मृत्यु, २६ जना गम्भीर र ६३ जना सामान्य घाइते भएका छन् ।
पाल्पामा २३ दुर्घटनामा २ जनाको मृत्यु, १ जना गम्भीर र ४० जना सामान्य घाइते भएका छन् । गुल्मीमा १९ दुर्घटनामा ३ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन् ।
अर्घाखाँचीमा १० दुर्घटनामा २ जनाको मृत्यु, ४ जना गम्भीर र २८ जना सामान्य घाइते भएका छन् । दाङमा ५० दुर्घटनामा १ जनाको मृत्यु, १९ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन् ।
बाँकेमा ९९ दुर्घटनामा ४ जनाको मृत्यु, १६ जना गम्भीर र १४० जना सामान्य घाइते भएका छन् । बर्दियामा ९३ दुर्घटनामा ३ जनाको मृत्यु, ५५ जना गम्भीर र ५३ जना सामान्य घाइते भएका छन् ।
प्युठानमा १३ दुर्घटनामा १ जना गम्भीर र १४ जना सामान्य घाइते भएका छन् । रोल्पामा ७ दुर्घटनामा १३ जना सामान्य घाइते भएका छन् । पूर्वी रुकुममा एक दुर्घटनामा १ जना गम्भीर र १ जना सामान्य घाइते भएका छन् ।
डीएसपी बस्यालका अनुसार ती दुर्घटनाको मुख्य कारण सडकमा बढ्दो भीड, चालकको लापरबाही, तीव्र गति र सडक अवस्थाको कमजोरी रहेका छन् । उनले यात्रामा सचेतता र ट्राफिक नियमको कडाइका साथ पालनाले यस्ता घटनामा कमी ल्याउन सकिने बताए ।