© २०२३
काठमान्डौ, २० असोज ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ, जसअनुसार परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने प्रायोजकले निश्चित मासिक न्यूनतम तलब पुरा गरेको हुनुपर्छ । नयाँ प्रावधानअनुसार चार तह निर्धारण गरिएको छ जसमा पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान र श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।
त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ । भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।
यूएईको संघीय प्राधिकरणले प्रायोजकको आयको आधारमा भिसा आवेदन स्वीकार्ने व्यवस्था गरेको छ । भिसा आवेदनमा नाता सम्बन्धको प्रमाण, कम्तिमा ६ महिनाको मान्य राहदानी र फिर्ता यात्रा टिकट अनिवार्य हुनेछ ।
आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीका अनुसार यस निर्णयले पारदर्शिता बढाउने, आर्थिक विविधिकरण समर्थन गर्ने, प्रतिभाशाली व्यक्तिलाई आकर्षित गर्ने, साथै जीवनस्तर सुधार, व्यापार र प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।