© २०२३
बुटवल –
मनसुनजन्य विपदका कारण बागमती, मधेस र कोशी प्रदेशमा जनधनको क्षति भए पनि लुम्बिनी प्रदेशमा त्यसको प्रभाव न्यून रहँदा दसैँको रमझममा कुनै खास कमी देखिएन।
बडा दसैँका अवसरमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रचलित सराय नाच अहिले पनि परम्परा अनुसार खेलिँदै आएको छ। टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म आ–आफ्नो स्थान अनुसार फरक दिनमा यो नाच आयोजना गरिन्छ।
पहाडी जिल्लाका विभिन्न कोट तथा मन्दिरहरूमा परम्परागत रूपमा खेलिने सराय नाच अहिले बसाइसराइसँगै तराईका जिल्लाहरूमा पनि विस्तार भएको छ। नाचमा सहभागीहरूले निधारमा रातो टीका र घाँटीमा जमरा वा धजा लगाएर, हातमा खुँडा, तरबार वा भाला र अर्को हातमा ढाल वा रुमाल लिएर नाच प्रदर्शन गर्छन्।
सांस्कृतिक अनुसन्धानकर्ता राजेन्द्रकुमार आचार्यका अनुसार, बाइसे–चौबिसे राज्यकालमा भुरे राजाले आफ्नै कोतमा सराय नाच नचाउने गरेका थिए, र यही परम्परा पछिको पुस्ताले निरन्तरता दिँदै आएको हो।
एकादशीको दिन अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुक, भूमिकास्थान नगरपालिका–५ र असुरकोटस्थित भगवती मन्दिरमा सराय नाच सम्पन्न भएको छ। त्यस्तै गुल्मीको घुर्कोट गाउँपालिका पिपलधारा, कपिलवस्तुको गोरुसिङ्गेलगायत स्थानहरूमा पनि नाचको आयोजना भइसकेको छ।
आइतबार गुल्मीको मालिका गाउँपालिका अर्खावाङ्गमा, कपिलवस्तुको चन्द्रौटा, बुद्धभूमि नगरपालिका भेलही र पत्थरकोटमा सराय नाच सम्पन्न भयो भने, सोमबार गुल्मीको इस्मा गाउँपालिकामा यो नाच आयोजना हुँदैछ। पूर्णिमाको दिन गुल्मीको तम्घासको थोगीथुम, कालीगण्डकी गाउँपालिका–६ खड्ककोट खनियापाटा लगायत स्थानहरूमा नाच हुने क्रम जारी रहने छ।
पहाडी जिल्लाबाट दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बसाइसराइ गरेका समुदायले त्यहाँ देवीको मन्दिर स्थापना गरी सराय नाचको परम्परा जिवित राख्दै आएका छन्। रुपन्देहीको बुटवलमा रहेको जितगढी र देवीनगरस्थित चौपारीमा पनि सराय नाचले दसैँको माहोलमा सांस्कृतिक रङ थपिरहेको छ।