© २०२३
काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको हाल पनि उपचार भइरहेको जनाएको छ ।
सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।
यस्तै, बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी हालसम्म ३० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क तथा समन्वय गरेर प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा हालसम्म दुई हजार तीन सय १६ जना घाइते उपचारका लागि अस्पताल आएका छन् । तीमध्ये दुई हजार दुई सय ३८ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ ।
यसै अवधिमा अस्पतालमा ल्याइएका र मृत्यु भएका व्यक्तिहरूको कुल संख्या ४९ रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, २०८२ साल असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या नौ जना रहेको उल्लेख गरिएको छ ।