© २०२३
नयाँ दिल्ली ।
भारतको सर्वोच्च अदालतमा सोमबार एक वकिलले प्रधानन्यायाधीश (सीजेआई) बीआर गवईमाथि आक्रमणको प्रयास गरेका छन् । गवईको नेतृत्वमा रहेको बेञ्च मुद्दा सुनुवाइ गरिरहेकै बेला ती वकिलले आक्रमणको प्रयास गरेका हुन् ।
दैनिक भास्करले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, ती वकिल बेञ्चको डेस्कसम्म पुगे र आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशतर्फ प्रहार गर्न खोजे । तर अदालतमा तैनाथ सुरक्षाकर्मीहरूले तत्कालै हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिए र अदालत परिसरबाट बाहिर निकाले ।
बाहिर निकाल्ने क्रममा ती वकिलले नारा लगाउँदै भने, “हामी सनातन धर्मको अपमान सहन सक्दैनौँ ।”
घटना भएपछिपनि प्रधानन्यायाधीश गवईले शान्तपूर्ण ढंगले अदालतको कार्यसञ्चालन जारी राखे । उनले उपस्थित वकिलहरूलाई आफ्नो बहस जारी राख्न भन्दै भने, “यस्ता कुराबाट विचलित नहुनुहोस् । मलाई पनि यस्ता घटनाले फरक पार्दैन ।”
उक्त घटनालाई मध्य प्रदेशको खजुराहोस्थित एक मन्दिरमा रहेको भगवान् विष्णुको भाँचिएको मूर्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिएको टिप्पणीसँग जोडिएको अनुमान गरिएको छ ।
सेप्टेम्बर १६ मा सर्वोच्च अदालतले खजुराहोको जावरी (वामन) मन्दिरमा रहेको ७ फिट अग्लो भाँचिएको मूर्तिको पुनर्स्थापनाका लागि दायर याचिका खारेज गरेको थियो ।
उक्त मुद्दामा प्रधानन्यायाधीश गवईले याचिकाकर्तालाई सम्बोधन गर्दै भनेका थिए, “तपाईं आफूलाई भगवान् विष्णुको भक्त भन्नुहुन्छ भने, गएर उनैलाई प्रार्थना गर्नुहोस् । उहाँ आफैँ गर्न सक्नुहुन्छ ।”
याचिका खारेजपछि निवेदक राकेश दलालले अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, “यो निर्णयले धार्मिक भावनामा चोट पुर्याएको छ ।”
अदालतले भने मूर्तिलाई वर्तमान अवस्थामा नै रहने निर्णय सुनाएको थियो । साथै, पूजा गर्न चाहने भक्तहरूले अन्य मन्दिरमा जान सक्ने विकल्प पनि दिएको थियो । याचिकाकर्ताको दाबी थियो कि मूर्ति मुगल आक्रमणका बेला भाँचिएको हो र त्यसबेलादेखि नै त्यही अवस्थामै रहेको छ ।