© २०२३
काठमान्डौ, २० असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरेकी हुन् । बैठक आह्वान गरिएको जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले दिएका छन् ।
भट्टका अनुसार बैठकले राहत कार्यलाई प्रभावकारी बनाउने, बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी र स्थायी वासस्थानको व्यवस्था लगायत महत्त्वपूर्ण निर्णय गर्नेछ ।
उनले अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण हालसम्म ४५ जनाको मृत्यु, ६ जना बेपत्ता र २४ जना घाइते भएको जानकारी दिए । घाइतेको प्रशासन कार्यालयको समन्वयमा निःशुल्क उपचार भइरहेको छ भने पीडित परिवारलाई खाद्यान्न र अन्य आवश्यक व्यवस्था समेत उपलब्ध गराइरहेको उनले बताए ।
अझै केही स्थानमा खोज–उद्धार कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको भट्टले उल्लेख गरे ।