© २०२३
काठमाडौं, २० असोज ।
भैरहवामा अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए–३२०’ विमान आज भैरहवा गएकाे छ ।
काठमाडौंबाट ८३ यात्रु लिएर भैरहवातर्फ गएको ‘आरए १७३१’ नम्बरको विमानले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट करिब १५१ यात्रु लिएर काठमाडौं फर्किनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुन सक्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
यसका लागि आरए १७३२ नम्बरको उडानमार्फत दिउँसो २:४५ बजे काठमाडौं उड्ने तालिका तय भए पनि निर्धारित समयभन्दा केही ढिलो उडान भएको जनाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल एयरलाइन्समार्फत भैरहवा र वरपर अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन उद्धार उडान गरिएको हो ।
वायुसेवा निगमका अनुसार बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनअनुसार उद्धार उडान गरिएको हो ।
उक्त चार्टर्ड उडानमा काठमाडौंदेखि भैरहवा रु ५,००० र भैरहवादेखि काठमाडौं रु ७,००० भाडादर तोकिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले मौसम अनुकूल भएकाले आज नियमित उडानहरू पनि सञ्चालनमा रहेको जानकारी दिए । उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइने निगमले स्पष्ट पारेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, भैरहवामा उल्लेख्य सङ्ख्यामा यात्रुहरू उडानको प्रतीक्षामा छन् ।
“विमानस्थलमा धेरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुहरूलाई गन्तव्यमा पुर्याउन विमानस्थलले प्रयास गरिरहेको छ,” तिवारीले बताए ।