© २०२३
भैरहवा —
विपद्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएपछि गन्तव्यमा पुग्न नसकेर अलपत्र यात्रुको उद्धार र राहतका लागि सोमबार दिउँसो भैरहवा आएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज १ सय ५७ यात्रु बोकेर काठमाडौं फर्किएको छ ।
पौने ४ बजे भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरबस ३२० जहाज यात्रु लिएर साढे ५ बजे फर्किएको हो । निगमको जहाज अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको टर्मिनलमा रोकिए पनि यात्रुका लागि आवश्यक सबै प्रक्रिया आन्तरिकतर्फ टर्मिनलबाट पूरा गरिएको थियो ।
नेपाल वायुसेवा निगमले सोमबार दिउँसो १ बजे चार्टर्ड उडानका लागि विमान भैरहवा अवतरण गरेर पौने ३ बजे काठमाडौं फर्किने जनाएको थियो । निर्धारित समयभन्दा केही ढिलो भए पनि जहाज भैरहवा आएपछि यात्रु खुसी भएका थिए ।
गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल स्थल व्यवस्थापनको अनुरोधमा निगमले अशक्त, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्ति लक्षित गरेर चार्टर्ड उडानका लागि स्वीकृति प्रदान गरेको थियो । निगमले आइतबार राति ९ बजेका लागि उडान अनुमति दिए पनि प्राविधिक कारण जनाउँदै साँझ प्रेस विज्ञप्ति जारी गरेर उडान तालिका सोमबार दिउँसोका लागि सारेको थियो ।
गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसम, बीचमा एक दिन आन्तरिक उडान स्थगित गरेकाले यात्रुको चापसँगै उडान थप्नु पर्ने मागका कारण सरकार र सरोकारवाला मिलेर सोमबार राहत उडान सञ्चालन गरिएको जानकारी दिए । यस अवधिमा काठमाडौं–भैरहवा नियमित उडान भरिरहेका वायु सेवा कम्पनीले पनि अतिरिक्त उडान गरे पनि सबै यात्रु समेटन नसकिएकाले राहत उडान गर्नु परेको बताए ।