Butwal Today

इलाम जान लागेका मन्त्रीहरूले पाएनन् टिकट

२० आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २० असोज ।

गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ सोमबार इलाम जाने तय भए पनि अन्तिम क्षणमा स्थगित भएको छ ।

गृह मन्त्रालयका स्रोतका अनुसार दुवै मन्त्रीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न इलाम जाने तयारी गरेका थिए । तर, सोमबार काठमाडौँ–भद्रपुर उडानका लागि जहाजको टिकट नपाएपछि भ्रमण स्थगित गर्नुपरेको हो ।

असोज १८ र १९ गतेको अविरल वर्षाका कारण इलाममा व्यापक क्षति भएको थियो । सोही क्षतिग्रस्त क्षेत्रको अवस्थाबारे बुझ्न मन्त्रीहरू जाने तयारीमा थिए । प्रारम्भिक योजनाअनुसार उनीहरू काठमाडौँबाट भद्रपुरसम्म नियमित हवाई उडानमार्फत जाने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने कार्यक्रम तय गरिएको थियो ।

तर, नियमित उडानका टिकट नपाएपछि भ्रमण अनिश्चित मितिसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।

मन्त्रीद्वयसँगै गृह, ऊर्जा र भौतिक पूर्वाधार सचिवहरू पनि सहभागी हुने तयारीमा थिए । इलाममा गएको पहिरोले बस्ती पुर्दा हालसम्म तीन दर्जनभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ ।