Butwal Today

वर्षा सामान्य रूपमा घटे पनि केही जिल्लामा बाढीको जोखिम कायमै

२० आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २० असोज ।

वर्षा सामान्य रूपमा घटे पनि देशका केही जिल्लामा बाढीको जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज इलाम, झापा, हुम्ला र दार्चुला सहित आसपासका जिल्लाबाट बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ ।

त्यस्तै, संखुवासभा, सुनसरी, मुगु, डोटी, बझाङ र कञ्चनपुर आसपासका नदीहरूमा पनि बहाव बढ्न सक्ने सम्भावना महाशाखाले जनाएको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तीसँग सम्बन्धित सहायक नदीहरू, साथै कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीहरूको बहाव अहिले सतर्कता तहभन्दा तल छ । दिउँसो नदीहरूको बहावमा सामान्य घटबढ हुने अनुमान गरिएको छ ।

यसैबीच, देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, साथै अन्य प्रदेशका पहाडी र तराई भू–भागका छिटफुट स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै काठमाडौं उपत्यकासहित देशका केही भागमा बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?