© २०२३
काठमाडौं, २० असोज ।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । तालिकाको प्रारम्भिक खाका तयार भइसकेको छ भने आयोगभित्र पदाधिकारीस्तरमा छलफल जारी छ ।
एक आयोग स्रोतले जानकारी दिँदै भन्यो, “पदाधिकारीहरूको बैठक टुंगिएलगत्तै कार्यक्रम तालिका सार्वजनिक हुनेछ ।” स्रोतका अनुसार नयाँ राजनीतिक दल दर्ताका लागि आयोगले कार्तिक मसान्तसम्मको समयसीमा तोक्ने तयारी गरिरहेको छ ।
उक्त समयावधिपछि दर्ता हुने दलहरू २१ फागुनको निर्वाचनमा भाग लिन योग्य हुने छैनन् । त्यसपछि आयोगले निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ ।
त्यसका लागि मंसिर १० हाराहारीको समय तोकिनेछ । सो अवधिमा नयाँ दलहरूले निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गराउनु पर्नेछ । आयोगले करिब डेढ महिनाको तयारी समय राख्दै माघको पहिलो साता भित्र उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने मिति तोक्ने गरी छलफल अघि बढाएको छ ।
विगतका निर्वाचनहरूमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेलगत्तै प्रचारप्रसार सुरु गर्न पाउने प्रचलन थियो । तर यसपटक आयोगले प्रचारप्रसार अवधि घटाउने तयारी गरेको छ ।
भौतिक प्रचारप्रसारका लागि उम्मेदवारहरूले करिब १५ दिनको मात्र समय पाउने गरी कार्यतालिका तयार पारिएको छ । त्यसअनुसार ६ फागुनअघि सभा, सम्मेलन, कोणसभा वा भौतिक प्रचारप्रसार गर्न पाइने छैन ।
“खर्चिलो प्रचारप्रसारले बेथिति बढाएको गुनासो विगतमा धेरै आएको थियो,” आयोग स्रोतले भन्यो, “त्यसैले दुई साताभन्दा बढी प्रचार अवधि नराख्ने धारणा बलियो रूपमा आएको हो । सोही आधारमा कार्यतालिका बनाइएको छ ।”
आयोगको बैठकले कार्यतालिका अन्तिम गरेपछि मंगलबार प्रधानमन्त्रीको उपस्थितिमा व्यापक छलफल गरिनेछ । सो बैठकमा आयोगका पदाधिकारीहरू, सबै मन्त्रीहरू, सुरक्षा निकाय प्रमुखहरू, मुख्यसचिव र अन्य सचिवहरू सहभागी हुनेछन् । बैठकमा निर्वाचन तयारी र समन्वयबारे छलफल हुने बताइएको छ ।