© २०२३
सल्यान, १९ असोज ।
सल्यानको दोश्रो अग्लो लेक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुमाख लेकमा लाग्ने कोजाग्रत पुर्णिमा मेलामा यस बर्ष जेनजी युवाहरुले प्राथमिक स्वास्थ्य उपचारसहितको टिम खटाउने भएका छन् । भोलि सोमबार कुमाख पहाडमा लाग्ने मेलामा प्राथमिक स्वास्थ्य उपचारसहितको टिम खटाउने र मेलाको सुव्यवस्था मिलाउन स्वयंसेवक परिचालन गरिने जेनजी युवाहरुको औपचारिक भेलाले निर्णय गरेको हो ।
हालै श्रीनगरमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रमबाट एकसय एक सदस्यीय तदर्थ समिती पनि गठन गरेको थियो । नवगठित समितिमा सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई मात्र समावेश गरिएको छ । समितिको जिल्ला संयोजकका रूपमा युवराज खड्कालाई जिम्मेवारी दिइएको छ ।
कुमाख मेलामा प्राथमिक स्वास्थ्य उपचारार्थ खटिने युवा स्वयंसेवकका लागि आवश्यक ट्रयाक व्यवस्थापनका लागि सहयोग रकम पनि जुटिसकेको भन्दै संयोजक खड्काले प्रभावकारी स्वास्थ्य सहजताका लागि तथा अन्य व्यवस्थापनका लागि जेनजी युवाहरु खटिने जानकारी दिए ।
उनका अनुसार श्रीनगरमा सम्पन्न भेलाले आगामी तीन महिनाभित्र जिल्लाका सबै १० वटै पालिकामा भेला तथा सम्मेलन सम्पन्न गरी पालिका र जिल्ला कार्यसमिति चयन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहदेखि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध सशक्त रूपमा आवाज बुलन्द गर्ने र समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध अग्रसर भई विकास र रुपान्तरणतर्फ युवाशक्ति एकजुट हुने जीनजी पुस्ताका युवाहरुको प्रतिबद्धता छ ।