© २०२३
काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ ।
प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई प्रति परिवार २ लाखका दरले सहयोग उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टका अनुसार क्षति पुगेका जिल्लाहरूमा उद्धार र राहतका कार्य तुरुन्त अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ ।
उनका अनुसार, बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पुर्याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ । ‘इलाममा बढी क्षति भएकाले त्यहाँ हामीले ७० लाख रुपैयाँ पठाएका छौँ । अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपद् कोषमा पर्याप्त रकम रहेकाले सोही रकमबाट खर्च गर्न निर्देशन दिएका छौँ,’ उनले बताए ।
प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन, खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन र राहत तथा पुनर्स्थापनाका गतिविधि तीव्र बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई निर्देशन दिएको जनाएको छ ।