Butwal Today

इलाममा पहिरो : २ जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १९ असोज ।

इलाममा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । कम्तीमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि, यो संख्या प्रहरीले पुष्टि गर्न बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । तर, कठिन भूगोलका कारण सुरक्षाकर्मीलाई घटनास्थल पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिका–६, घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सोही परिवारका तीन जना अझै बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा सो घटना भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी रहेको छ ।

स्थानीय युवा रेवज तामाङका अनुसार दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

यस्तै, माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका छन् ।

त्यसैगरी, सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता भएका छन् । माङ्सेबुङमा पनि पहिरोमा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको पुष्टि गरिन् । तर, क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाउँदै उनले पानी रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको जानकारी दिइन् ।