Butwal Today

पानी रोकिएसँगै काठमाडौं–पश्चिम यातायात खोल्ने तयारी

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १९ असोज ।

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्गहरू खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य मुख्य राजमार्गमा सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भन्दै सम्बन्धित सरकारी निकायहरूलाई सूचना दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार काठमाडौं–नारायणगढ तथा काठमाडौं–पोखरा सडकखण्डमा सवारी साधन सञ्चालन गर्न तयारी थालिएको छ ।

“अहिले केही स्थानमा साना पहिरोहरू छन् । ती हटाएपछि पश्चिमतर्फ जाने बाटो खुला हुनेछ । थप पानी पर्ने सम्भावना नरहेको सूचना प्राप्त भएकाले यातायात सञ्चालन गरिनेछ,” मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार हाल वर्षा रोकिने क्रम सुरु भइसकेको छ । ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिसकेको र पूर्वी क्षेत्रमा पनि आज दिउँसोभित्र प्रणाली निष्क्रिय हुने सम्भावना रहेको उनले बताए ।

सरकारले बाढी, पहिरो र वर्षाको जोखिमका कारण असोज १८, १९ र २० गते तीन दिनका लागि काठमाडौं प्रवेश र बहिर्गमनमा रोक लगाएको थियो । तर, अनुमानभन्दा छिटो मौसममा सुधार आउन थालेकाले पश्चिमतर्फको सडक सञ्चालनका लागि मौसम अनुकूल हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।