Butwal Today

जितगढी सरायँ व्यवस्थापन समितिले भन्यो– अफवाहको पछि नलागौं, यस वर्ष पनि सरायँ नाच हुन्छ

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

बुटवल, १९ असोज ।

बुटवल उपमहानगरपालिका–१३, जितगढीमा बार्षिक रूपमा आयोजना हुने ऐतिहासिक सरायँ नाच यस वर्ष पनि हुने निश्चित भएको छ । वडा नं. १३ जितगढी सरायँ व्यवस्थापन समितिले सामाजिक सञ्जालमा फैलिएका गलत अफवाह विरुद्ध स्पष्ट पार्दै सरायँ नाच हुने जानकारी गराएको हो ।

जितगढीमा हरेक वर्षको दसैंकौ चतुर्दशीको दिन सरायँ नाच हुने गर्दछ । यसवर्ष पनि असोज २० गते सरायँ नाच आयोजना हुन लागेको हो ।

समितिका सल्लाहकार ऋषि आजादले गत वर्षको कार्यक्रममा प्रमुख अतिथिले रक्सी र मासु सेवन गरेको गम्भीर आरोप लगाएपछि यस वर्षको सरायँ नाच हुने–नहुने बारे अन्यौलता फैलिएको थियो । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त गलत अफवाहका विरद्ध नलाग्न आग्रह गर्दै संस्कृति संरक्षणका लागि सरायँ नाच यसवर्ष पनि गरिने जानकारी गराएको छ । सम्मेलनमा समितिका अध्यक्ष खिम बहादुर थापाले भने, “सल्लाहकार आजादले सामाजिक सञ्जालमा लेखेको विषयले हामीलाई गम्भीर बनायो, तर सरायँ नाच निश्चित रूपमा आयोजना हुनेछ ।”

अध्यक्ष थापाले स्पष्ट पार्दै भने, “गत वर्ष उद्घाटनमा आएका मन्त्री न्यौपानेले ३२ हजार रुपैयाँको मासु र रक्सी सेवन गरेको भन्ने कुरा निराधार हो । सरायँ नाच व्यवस्थापनमा जम्मा ६२ हजार ५ सय रुपैयाँ खर्च भएको हो र मन्त्री ज्युले बिरामी भएर छिटै फर्किनुभयो, केही सेवन नै गर्नुभएको होइन ।”

सचिव पिताम्बर भण्डारीले जितगढीको ऐतिहासिक सरायँ नाच १२ वर्षदेखि निरन्तर चलिरहेको जानकारी दिंदै कसैले अफवाह फैलाए पनि नरोकिने बताए । यस वर्ष पनि नाच भव्यताका साथ हुने उनले बताए ।

भण्डारीका अनुसार, सरायँ नाचको सम्पूर्ण हिसाब–किताब पारदर्शी छ र समितिको निर्णय बिना कुनै काम भएको छैन । गत वर्ष समितिले २५ जना पुरुषलाई दौरा–सुरुवाल र ३ जना महिला सदस्यलाई ढाकाको ब्लाउज–सारी खरिद गरेको थियो । साथै, ७५ थान स्टकोट र टोपी समितिमा राखिएको छ, जुन केवल नाचका बेला मात्र प्रयोग हुनेछ ।

समितिले पोसाक र अन्य सामग्री व्यक्तिगत प्रयोजनको लागि नभएको भन्दै समितिमा रहने र पदमुक्त भएपछि फिर्ता गर्नुपर्ने जानकारी पनि गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?