© २०२३
काठमान्डौ, १९ असोज ।
लाङटाङ क्षेत्रमा ट्रेकिङका क्रममा खोल्साको बाढीमा परेर बेपत्ता भएका चार जनाको खोजी कार्य जारी छ । गोसाइकुण्ड गाउँपालिका–४ बेरिङ खोल्साले बगाएका उनीहरूको खोजी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विभिन्न स्थानमा गरिरहेको छ ।
बेपत्ता हुनेमा मध्यपुर थिमी नगरपालिका निवासी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० निवासी रवि श्रेष्ठ रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली स्याफ्रुबेशीस्थित भोटेकोशी नदी आसपास खोजीमा खटिएको सशस्त्र प्रहरी सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । त्यस्तै, अस्थायी सुरक्षा बेस मैलुङ्ग र नेपाल प्रहरीको संयुक्त टोलीले मैलुङ्गस्थित त्रिशुली खोला आसपासको क्षेत्रमा खोजी कार्य तीव्र पारेको छ ।
१६ जना लाङटाङमा ट्रेकिङ गएका थिए । तीमध्ये आठ जना पहिले नै घोडातबेलामा पुगेका थिए भने बाँकी आठ जना पछि आइरहेका थिए । सो क्रममा बेरिङ खोल्सामा एक्कासि आएको बाढीले चार जनालाई बगाएर बेपत्ता बनाएको बताइएको छ ।