© २०२३
काठमाडौं, १९ असोज ।
दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउने तयारी गरेको छ ।
नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।
‘विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका हौं,’ सीडीओ पाण्डेले भने ।
उनका अनुसार, १५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।
यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
काठमाडौंबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी गरिएको सीडीओ पाण्डेले बताए ।