Butwal Today

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

१९ आश्विन २०८२, आइतबार
अ+
अ-
नेपालगञ्ज ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका केही क्षेत्रमा अनिश्चितकालीन निशेधाज्ञा जारी गरेको छ । दशैको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा बाँकेका केही स्थानमा धार्मिक सद्भावमा खलल पु्रर्याउने गतिविधि भएको विषयलाई मध्यनजर गर्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न बाँकेको डुडुवा गाउँपालिका ६, नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिकाको ५ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शनिवार सूचना प्रकाशित गर्दै असोज १८ गते बेलुका ७ बजेदेखि अर्को आदेश वा व्यवस्था नहुँदा सम्म निषेधाज्ञा लागू हुने जनाएको छ । शनिवार पनि बाँकेको डुडुवा ६ हिरमिनियामा घुम्ती पस , एउटा पुरानो मोटरसाइकलमा आगजनी भएकोले धार्मिक सम्प्रदायबीच आपसी सद्भावमा असर पुर्‍याउने थप घटना हुन सक्ने भन्दै प्रशासनले सुरक्षाको दृष्टिले निषेधाज्ञा आवश्यक भएको जनाएको छ।
प्रशासनले निषेधाज्ञा लागू हुने स्थानमा ५ जनाभन्दा बढी व्यक्तिहरू एकै ठाउँमा भेला हुन, जुलुस वा र्याली गर्न, धर्ना, सभा–समारोह आयोजना गर्न, हतियार बोक्न र उच्छृङ्खल गतिविधि गर्न निषेध गरेको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। जिल्ला प्रशासन बाँकेले सबै पक्षलाई शान्ति, सुरक्षा र धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।